विराटचोकः देशभरका ७ सय ५३ स्थानीय सरकारमध्ये कार्यसम्पादन मूल्याङ्कनमा अर्घाखाँचीको पाणिनी गाउँपालिका सर्वाेत्कृष्ट भएको छ । सो गाउँपालिकाले कुल ८३ दशमलव ८४ अङ्क प्राप्त गरी पहिलो स्थानमा रहेको राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले बिहीबार सार्वजनिक गरेको नतिजामा उल्लेख छ । नतिजाअनुसार ८० अङ्क कटाउने जम्मा ४ वटा पालिका छन् ।
रुकुमश्चिमको चौरजहारी नगरपालिकाले ८२ दशमलव १५ अङ्क ल्याएर दोस्रो स्थानमा छ । गुल्मीको मालिका गाउँपालिकाले ८१ दशमलव ९८ प्रतिशत र धुर्कोट गाउँपालिकाले ८० दशमलव ५२ प्रतिशत अङ्क ल्याएर उत्कृष्ट गाउँपालिकाको सूचीमा अगाडि छन् ।
आयोगले स्थानीय तहका १७ सूचकमा मूल्याङ्कन गरेको थियो । जसमा १० असारभित्र बजेट सार्वजनिक गरेको वा नगरेको, असार मसान्तभित्र बजेट पास गरेको वा नगरेको उल्लेख छ । यसैगरी आर्थिक वर्ष २०८१\८२ मा घरजग्गा रजिस्ट्रेसन शुल्क, मनोरञ्जन कर तथा विज्ञापन करबापत उठेको रकमध्ये प्रदेश सरकारलाई दिनुपर्ने ४० प्रतिशत रकम मासिक प्रदेश सञ्चित कोषमा दाखिला गरेको नगरेको समेत मूल्याङ्कनको सूचक मानिएको छ ।
आगामी आर्थिक वर्षको बजेट प्रक्षेपण सहित विवरण अर्थ मन्त्रालयमा बुझाएको वा नबुझाएको, बजेट समीक्षा गरी कात्तिक मसान्तभित्र सार्वजनिक गरेको वा नगरेकोलाई समेत सूचक मानिएको छ । राजस्व परिचालन, बजेट खर्चको अवस्था, बेरुजु, सूत्र सफ्टवेयर प्रयोग, विद्यार्थी भर्ना दर, कक्षा ९ मा विद्यार्थी टिकाउ दर, गर्भ जाँच गर्ने महिला अनुपात, एसईई परीक्षाको नतिजा, खोप लगाएका बालबालिकाको अनुपात समेत आयोगले मूल्याङ्कनका आधार मान्ने गरेको छ ।
आयोगका अनुसार कार्यसम्पादन मूल्याङ्कनमा मधेस प्रदेशका अधिकांश स्थानीय तहको अङ्क कमजोर छ । धनुषाको धनौजी गाउँपालिले ३१.८१ अङ्क पाएको छ । महोत्तरीको सोनमा गाउँपालिकाले ३५ अङ्क पाएको छ । सर्लाहीको चन्द्रनगर गाउँपालिकाले ३५.१६ अङ्क पाएको छ ।



