विराटनगरः प्रेस चौतारी मोरङको आयोजनामा भएको २८ औँ स्थापना दिवस तथा शुभकामना आदानप्रदान कार्यक्रम लेटाङका पत्रकार सुरेश अधिकारी पुरस्कृत हुनुभएको छ । उहाँ कृष्णप्रसाद सिग्देल स्मृति युवा पत्रकारिता पुरस्कारबाट पुरस्कृत हुनुभएको हो ।
अधिकारीलाई दोसल्ला ओढाएर सम्मानपत्रसहित नगद १७ हजार रुपैयाँ प्रदान गरिएको हो । कार्यक्रममा केक काटेर प्रेस चौतारी नेपालको स्थापना दिवस मनाइएको थियो ।
कार्यक्रममा प्रेस चौतारी नेपालका केन्द्रीय सचिव विक्रम लुइँटेल, नेपाल पत्रकार महासंघ कोशी प्रदेशका उपाध्यक्ष कुमोद अधिकारी, प्रेस चौतारीका संस्थापक पदाधिकारीहरू, पूर्वअध्यक्षहरू, पुरस्कार स्थापना गर्ने परिवारका सदस्य लगायतको उपस्थिति रहेको थियो ।
प्रेस चौतारी नेपाल मोरङ अध्यक्ष चीना थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कोशी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री इन्द्रमणि पराजुलीको प्रमुख आतिथ्यता रहेको थियो ।







