काठमाडौंः जेनजी आन्दोलनका सहिदका सन्तानको लागि गोल्याण ग्रुपले घोषणा गरेको शैक्षिकवृत्ति कार्यक्रम अन्तर्गत तीन जना बालबालिकाले अक्षरारम्भ शुरु गरेका छन् ।
सरस्वती पूजाको अवसरमा काठमाडौं, पोखरा र सिराहा (लहान) का ती शिशुले अध्ययन शुरु गरेका हुन् । गोल्याण ग्रुपले असोज २४ मा सहिदका बालबालिकाको लागि कक्षा १२ सम्मको शैक्षित्रवृत्ति योजना घोषणा गरेको थियो । उक्त योजनामा ३४ जना बालबालिका आबद्ध छन् । तीमध्ये विद्यालय भर्ना हुने उमेर पुगेका तीन जनाले अक्षरारम्भ गरेका हुन् ।
काठमाडौंको बानियाटारस्थित काठमाडौं युरो स्कुलमा नेलसन पराजुली, पोखराको रानीपौवास्थित अर्ली चाइल्डहुड एकेडेमीमा एनिक गुरुङ र सिराहाको लहानस्थित स्कुल अफ स्कलरमा विवांशी चौधरीले अक्षरारम्भ गरेका हुन् । उनीहरू २ वर्षका छन् ।
काठमाडौं युरो स्कुलमा आयोजित अक्षरारम्भ समारोहमा गोल्याण ग्रुपका अध्यक्ष तथा प्रबन्ध निर्देशक अक्षय गोल्याणले बालबालिकाका अभिभावकले देशका लागि दिएको बलिदानीको सम्मान गर्न सामाजिक जिम्मेवारी ग्रहण गरेको बताउनुभयो । गोल्याणले पराजुलीको एक वर्षको शैक्षिकवृत्ति रकम ३ लाख ७६ हजार रुपैयाँको चेक विद्यालयलाई प्रदान गर्नुभएको छ ।
शैक्षिकवृत्ति कार्यक्रम अन्तर्गत प्रत्येक बालबालिकाको मासिक ४० हजारको दरले अधिकतम वार्षिक ४ लाख ८० हजार रुपैयाँ खर्च व्यहोर्ने गरी सहिद परिवार, सम्बन्धित विद्यालय र गोल्याण ग्रुपबीच त्रिपक्षीय सम्झौता भएको बताइएको छ ।







