विराटचोकः सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडले आज माघ १८ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने भएको छ ।
कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ निष्काशन गरेपछि सर्वसाधारणका लागि निष्काशन गर्न लागेको हो ।
कम्पनीले ५ करोड ७२ लाख ४३ हजार १०० रुपैयाँबराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ५ लाख ७२ हजार ४३१ कित्ता शेयर निष्काशन गर्न लागेको हो ।
न्यूनतम १० कित्ता र अधिकतममा ५० हजार कित्ताका लागि आवेदन दिन सकिने सो आइपीओ निष्काशन बन्द छिटोमा माघ २१ गते र ढिलोमा फागुन ३ गते हुने कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेडले जनाएको छ ।
कम्पनीले सञ्चालन गरेको ११ मेगावाटको माथिल्लो तादी खोला जलविद्युत आयोजनाको कुल लागत २ अर्ब ३६ करोड ८४ लाख ४० हजार रुपैयाँ रहेको छ भने प्रतिमेगावाट लागत २१ करोड ५३ लाख १२ हजार ७२७ रुपैयाँ २७ पैसा रहेको छ । सो जलविद्युत आयोजनाको विद्युत अनुमतिपत्र २६ वर्ष बाँकी रहेको छ । आयोजनाको साधारण लगानी फिर्ता हुने अवधि ७.७१ वर्ष रहेको छ भने डिस्काउण्टमा लगानी फिर्ता हुने अवधि १६ वर्ष रहेको छ ।







