Sunday, February 1, 2026
Homeसमाजकुडुले (गोल र घुमाउने) घर संरक्षणका लागि महोत्सव स्थलमा त्यस्ता घर प्रदर्शनी...

कुडुले (गोल र घुमाउने) घर संरक्षणका लागि महोत्सव स्थलमा त्यस्ता घर प्रदर्शनी गर्दै उद्योग वाणिज्य संघ वालिङ

स्याङ्जाः पछिल्ला वर्षमा गाउँ गाउँमा भएका पुराना घर भत्काएर नयाँ पक्की घर बनाउने क्रम बढ्दै गएपछि पुराना र लोप हुन लागेका वस्तुको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले वालिङ उद्योग वाणिज्य संघले त्यस्ता घर संरक्षणमा ध्यान जाओस् भनेर चेतना जगाउने कार्य गर्न थालेको छ ।

चेतना जगाउने उद्देश्यले नै माघ १४ गतेदेखि जारी वालिङ महोत्सवका महोत्सवस्थलमा लोपोन्मुख घुमाउने (कुडुले) घर निर्माण गरेको वालिङ उद्योग वाणिज्य संघका अध्यक्ष चेतनारायण श्रेष्ठ बताउनुहुन्छ ।

आधुनिकतासँगै पछिल्ला पुस्ताले यसप्रकारका घर नदेखेको र आफ्नो परम्पराको संरक्षण र जगेर्ना गर्दै नयाँ पुस्तालाई पुरानो कला संस्कृति तथा परम्पराकाबारेमा जानकारी दिनका लागि गोलघर निर्माण गरिएको आयोजकले जनाएको छ ।

महोत्सवस्थलमा बाँस, खर, काठ र माटोको प्रयोग गरेर बनाइएको गोलघर नवौं वालिङ महोत्सवको मुख्य आकर्षणको रूपमा रहेको छ । वालिङ उद्योग वाणिज्य संघका सहकोषाध्यक्ष एवम् गोलघर निर्माण उपसमितिका संयोजक केशव पराजुलीका अनुसार खरले छाएको गोलघर दुई तलाको छ । घरको छानो र पाली खरैखरले छाइएको छ ।

घरभित्र पुरानो जीवनशैलीलाई झल्को दिने खालका जाँतो, ढिकी, हलो, जुवा, ठेको, छानामा फर्सी, कुभिण्डोलगायतका सामग्री राखिएको छ । घरको भित्तोलाई रातो र सेतो माटोले लपक्क लिपेर आकर्षक बनाइएको छ । घरभित्र, पिँढी तथा आँगनमा गोबर माटोले लिपिएको छ ।

माघ १४ गतेदेखि शुरु भएको महोत्सव २५ गतेसम्म सञ्चालन हुने भएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments