काठमाडौंः पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका अभिव्यक्तिमा व्यञ्जना सिद्धान्तमा आधारित रहेर शोध गर्ने सानुमैयाँ खड्कालाई नेपाल संस्कृत विश्वविद्यालयले विद्यावारिधि उपाधि प्रदान गरेको छ ।
खड्काको शोधले ओलीका अभिव्यक्तिमा उखान–टुक्कामा सीमित नभई गहिरा दार्शनिक अर्थ रहेको निष्कर्ष निकालेको छ । शोधमा ओलीको ‘समृद्ध नेपाल, सुखी नेपाली’ नारा दर्शनको रूपमा विकसित भएको भनी विश्व अन्य नेताहरूको भाषणसँग तुलना गरिएको छ । उक्त आकांक्षा अब आत्मसम्मान र सामाजिक न्यायको समिश्रित आयामहरूमा आधारित दर्शन रहेको शोधको निचोड रहेको छ ।
नेपालको राजनीतिक वक्तृत्व परम्परामा पूर्वीय चिन्तनको प्रयोग गरिएको पहिलो विद्यावारिधिस्तरीय शोध यही भएको जनाइएको छ ।
खड्काले आफ्नो शोधमा पूर्वप्रधानमन्त्री ओलीका भाषणलाई पूर्वीय दर्शनको सैद्धान्तिक दृष्टिकोण अर्थात् व्यञ्जना सिद्धान्तबाट विश्लेषण गर्नुभएको छ ।
शोधमा विश्व चर्चित नेताहरू बाराक ओबामा, डोनाल्ड ट्रम्प, सी चीनफिङ, नरेन्द्र मोदीलगायतका अभिव्यक्ति तथा भाषणशैलीको पनि तुलनात्मक अध्ययन गरिएको छ ।
तुलनात्मक समीक्षामा ओलीका अभिव्यक्तिहरूमा मौलिकता, सांस्कृतिक गहिराइ र प्रतीकात्मक भाषिक संरचनाको विशिष्ट पहिचान रहेको उल्लेख गरिएको छ ।
यस अध्ययनलाई नेपाली राजनीतिक भाषाशास्त्र, वक्तृत्व अध्ययन, दार्शनिक विमर्श तथा समकालीन राजनीतिक अनुसन्धानको क्षेत्रमा महत्वपूर्ण शैक्षिक योगदानको रूपमा लिइएको छ ।
खड्काले आगामी दिनमा नेपाली नेताहरूका भाषण, अभिव्यक्ति र वैचारिक संरचनालाई व्यवस्थित रूपमा अभिलेखीकरण, विश्लेषण र शैक्षिक बहसमा रूपान्तरण गर्नु आवश्यक रहेको बताउनुभएको छ ।
नेपाली नेताहरूका अभिव्यक्तिमा निहित सांस्कृतिक अर्थ, दार्शनिक गहिराइ र संरचनालाई समेटेर अघि बढाइने अनुसन्धान परम्पराले बौद्धिक जगतलाई नयाँ दिशातर्फ उन्मुख गराउने विश्वास गर्न सकिने शोधार्थी खड्काको भनाइ छ ।
खड्काको शोधपत्रका लागि डा. ऋषिराम शर्मा शोध निर्देशक तथा प्रा.डा. भागवत ढकाल र प्रा. केशव सुवेदी विशेषज्ञ रहनुभएको थियो ।







