Monday, January 19, 2026
Homeअर्थकानेपोखरी गाउँपालिकामा पनि करसम्बन्धी सेवा शुरु

कानेपोखरी गाउँपालिकामा पनि करसम्बन्धी सेवा शुरु

कानेपोखरीः साबिक करदाता सेवा कार्यालयबाट प्रदान हुँदै आएका करसम्बन्धी सेवाहरू अब कानेपोखरी गाउँपालिकामै उपलब्ध हुने गरी शुक्रबारदेखि सेवा शुभारम्भ भएको छ ।

कानेपोखरी गाउँपालिकाको आयोजना तथा आन्तरिक राजस्व कार्यालय दमक र करदाता सेवा कार्यालय पथरीको सहकार्यमा सञ्चालन गरिएको सो सेवाबाट स्थानीय करदाताले अब कर दर्ता, विवरण बुझाउने, परामर्शलगायतका सेवाहरू आफ्नै पालिकाबाट सहज रूपमा प्राप्त गर्न सक्नेछन् ।

सेवा शुभारम्भ कार्यक्रममा जनप्रतिनिधि, सरकारी कार्यालयका प्रतिनिधि, व्यवसायी, करदाता तथा सरोकारवाला निकायको सहभागिता रहेको थियो ।

कार्यक्रममा कानेपोखरी गाउँपालिकाकी अध्यक्ष राजमती इङ्गनामले उत्कृष्ट कर तिर्ने करदातालाई सम्मान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । दमक वा विराटनगर पुगेर कर तिर्नुपर्ने बाध्यता अन्त्य भएको उल्लेख गर्दै उहाँले कर तिर्नु अनिवार्य रहेको विषयमा कर शिक्षासम्बन्धी तालिम तथा जनचेतनामूलक कार्यक्रमसमेत सञ्चालन गरिने बताउनुभयो ।

प्रमुख प्रशासकीय अधिकृत हीराकुमारी यादवले नयाँ सेवाबारे पालिकाभित्रका सबै वडासम्म सूचनाको प्रभावकारी प्रवाह आवश्यक रहेको बताउनुभयो ।

सेवा शुरुसँगै कानेपोखरी गाउँपालिकाले आफ्नो क्षेत्रभित्र बसोबास गर्ने प्राकृतिक व्यक्तिहरूलाई व्यक्तिगत स्थायी लेखा नम्बर (पान) जारी गर्नेछ । स्थानीय ठेगानामा दर्ता भएका व्यवसाय तथा निकायलाई व्यावसायिक स्थायी लेखा नम्बर उपलब्ध गराइने व्यवस्था गरिएको छ । मूल्य अभिवृद्धि करमा दर्ता हुन चाहने व्यवसाय तथा निकायका निवेदन आवश्यक कागजात भिडान गरी सम्बन्धित आन्तरिक राजस्व कार्यालयमा सिफारिश गर्ने र दर्ता प्रमाणपत्र उपलब्ध गराउने प्रावधान पनि समावेश गरिएको छ ।

सेवा सञ्चालनका लागि आवश्यक स्रोत, साधन र जनशक्तिको व्यवस्थापन कानेपोखरी गाउँपालिकाले गर्ने भएको छ । इन्टिग्रेटेड ट्याक्स सिस्टम सञ्चालनका लागि आवश्यक युजर नेम, पासवर्ड, कर्मचारी तालिम तथा प्राविधिक सहजीकरण आन्तरिक राजस्व कार्यालय दमकले उपलब्ध गराउनेछ । सेवा प्रभावकारी बनाउन दुवै पक्षबाट एक–एक जना जिम्मेवार कर्मचारीलाई फोकल पर्सनका रूपमा तोकिने व्यवस्था पनि गरिएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments