विराटचोकः भोलिदेखि सुन्दरहरैँचामा सातौँ संस्करणको नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने भएको छ । प्रतियोगिताको आयोजकमा सुकुना माध्यमिक विद्यालय तथा सहआयोजकमा महेन्द्र माध्यमिक विद्यालय रहेका छन् ।
प्रतियोगिताका खेलहरु सुकुना माध्यमिक विद्यालयको खेल मैदानमा हुने प्रतियोगिता आयोजकद्वारा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । आयोजक सुकुना माध्यमिक विद्यालयका प्रधानाध्यापक हिक्मतबहादुर बस्नेतका अनुसार प्रतियोगितामा सामुदायिक र संस्थागत गरी २२ वटा विद्यालय सहभागी हुनेछन् ।
भोलि प्रतियोगिताको उद्घाटन सुकुना माध्यमिक विद्यालयको खेलमैदानमा हुने भएको छ । प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने विद्यालयलाई रनिङ शिल्ड प्रदान गरिनेछ । खेलाडीहरूले १ सय ४६ वटा स्वर्ण, १४६ वटा रजत र १४६ वटा कास्य पदक जित्नेछन् ।
प्रतियोगितामा स्वर्ण पदक जित्ने खेलाडीले जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागिता जनाउन पाउनेछन् ।
सुन्दरहरैंचा नगरपालिकाले लगातार दुई पटक शिल्ड जितेको हुनाले यस पटक पनि जिल्ला स्तरीय प्रतियोगितामा शिल्ड जितेर आफ्नो पार्ने गरी तयारी गरिएको आयोजकले जनाएको छ ।
पत्रकार सम्मेलनमा सुन्दरहरैंचाको शिक्षा शाखाका प्रतिनिधि तथा विभिन्न विद्यालयका प्रधानाध्यापकहरुको उपस्थिति रहेको थियो ।







