गछियाः सुन्दरहरैंचा नगरपालिकाको आयोजनामा यही माघ ६ गतेदेखि ८ गतेसम्म दोस्रो सुन्दरहरैँचा उपमेयर कप कोशी प्रदेश अन्तरपालिका महिला भलिबल प्रतियोगिता हुने भएको छ । प्रतियोगिता सुन्दरहरैँचा नगरपालिका–७ स्थित गछिया खेल मैदानमा आयोजना हुने आयोजकले जनाएको छ ।
प्रतियोगिताबारे जानकारी हिजो आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिता आयोजक सिद्धार्थ युवा समाजका अध्यक्ष असिम राईले सो जानकारी दिनुभएको हो । उहाँका अनुसार विभिन्न जिल्लाका १२ वटा पालिकाबाट महिला भलिबल टिमको सहभागिता सुनिश्चित भइसकेको छ । थप २ पालिका सहभागी हुने सम्भावना रहेको उहाँले बताउनुभयो ।
महिला खेलाडी उत्पादन तथा प्रवद्र्धन गर्न प्रतियोगिताले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको प्रवद्र्धक सुन्दरहरैँचा नगर खेलकुद विकास समितिले लिएको समितिका सदस्य सचिव खड्गबहादुर श्रेष्ठले बताउनुभयो ।
खेल संयोजक भलिबलका पूर्व राष्ट्रिय खेलाडी पोष्टकुमार श्रेष्ठका अनुसार प्रतियोगितामा विजयी हुने टिमका साथै अन्य विभिन्न विधागत पुरस्कार पनि रहेका छन् ।
दैनिक चार खेल सञ्चालन हुने सो प्रतियोगितामा प्रथम हुने टिमले १ लाख ३३ हजार रुपैयाँ, दोस्रो हुने टिमले ६६ हजार ५०० रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् । साथै विजयी टिमलाई शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।
त्यसैगरी ‘म्याच अफ द सिरिज’ खेलाडीलाई १ हजार ५ सय रुपैयाँ र उत्कृष्ट खेलाडीलाई ३ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने भएको छ ।
ताप्लेजुङ, ओखलढुंगा, भोजपुर, धनकुटा, खोटाङ, संखुवासभालगायतका पहाडी जिल्लाका पालिकाबाट समेत टिमको सहभागिता रहने आयोजकले जनाएको छ ।







