बेलबारीः इटहरीस्थित निःसहाय बालबालिका सेवा आश्रम (हाम्रो घर) का बालबालिकाहरूको साथमा बेलबारी २ लालभित्ती निवासी व्यवसायी तथा सामाजिक व्यक्तित्व हेमराज थापाले आफ्नो जन्मोत्सव मनाउनुभएको छ ।
आफ्ना पिता ९३ वर्षीय डिल्लीबहादुर थापाको साथमा परिवारसहित सो आश्रममा बालबालिकाहरूसँग आफ्नो जन्मोत्सव मनाउन पुगेका थापाले बालबालिकाहरूको बीचमा केक काटेर उनीहरूलाई खाजा समेत खुवाउनुभएको थियो । सो अवसरमा बालबालिकाहरूका लागि खाना तथा परीक्षा पढाइ शुल्कका लागि नगद पनि थापाले प्रदान गर्नुभएको थियो ।
३० वर्ष वैदेशिक रोजगारीको सिलसिलामा जर्मनीमा रेस्टुरेन्ट व्यवसाय चलाएका थापाले नेपाल फर्किएपछि पाँच वर्षअघि इटहरीस्थित संगीत चोक, मगर कम्प्लेक्समा मेट्रो फुड नामक रेस्टुरेन्ट सञ्चालन गरिरहनुभएको छ । करिब १६ जनालाई प्रत्यक्ष रोजगारी दिएर नेपालमै आफ्नो व्यवसाय शुरु गरेका थापाले सामाजिक कार्यमा समेत धेरै अगाडिदेखि हात बढाउँदै आउनुभएको छ ।
उहाँले कोरोनाको समयमा विभिन्न दुःखी र गरिबहरूलाई खाद्यान्न घरसम्मै पुर्याएर सहयोग गर्नुभएको थियो भने बेलाबेलामा आपतमा परेका व्यक्तिहरुको घरमै गएर नगद तथा खाद्यान्न प्रदान गर्ने गर्नुभएको छ । आफ्नो कमाइको १० प्रतिशत सामाजिक सेवामा लगाउने योजना रहेको उहाँले जानकारी दिनुभएको छ ।
उहाँका बुबा विद्यालय निर्माण तथा विभिन्न सामाजिक कार्यहरूमा सक्रिय व्यक्ति हुनुहुन्छ । बुबाको कामबाट आफूलाई समाजसेवाको प्रेरणा मिलेको उहाँ बताउनुहुन्छ ।
२०३८ सालमा स्थापना भएको उक्त बाल आश्रममा ६० जना बालबालिकाहरू आश्रित रहेका छन् ।







