काठमाडौंः आइतबारदेखि भृकुटीमण्डपमा जारी नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन अन्तर्गत आज बन्द सत्रको कार्यतालिका तय गरिएको महाधिवेशन प्रचार प्रसार समिति संयोजक सुवास पोखरेलले जानकारी दिएका छन् ।
उनका अनुसार आज शुरुमा महाधिवेशनको कार्यविधि बनाउने तालिका रहेको छ । त्यसपछि ९ वटा समूह निर्माण गरेर चार वटा विषयमाथि नीतिबारे छलफल हुनेछ ।
चार विषयहरुमध्ये विधान संशोधन, नीति र नेतृत्व, शासकीय सुधार र समसामयिक विषयमाथि छलफल हुने भएको हो । नीति मन्थनपछि नेतृत्व परिवर्तन गर्ने या नगर्ने भन्नेबारे छलफल हुनेछ ।
नेतृत्व परिवर्तनको पक्षमा निर्णय भएमा निर्वाचन समिति गठन गरी थप प्रक्रिया अघि बढाइने भएको छ । महाधिवेशन प्रतिनिधिको दर्ता कार्यक्रम आज बिहान ११ बजेसम्म जारी रहने भएको छ ।
कतिपय जिल्लाका प्रतिनिधिहरु आज बिहान मात्रै आइपुगेकाले उनीहरुका लागि बिहान ८ बजेदेखि नाम दर्ता गर्न शुरु गरिएको छ ।







