गोठगाउँः सामाजिक मिलन केन्द्र प्रतिष्ठान सुन्दरहरैंचाको तेस्रो वार्षिक साधारणसभा शनिबार प्रतिष्ठानको कार्यालयमा सम्पन्न भएको छ ।
सुन्दरहरैंचा नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष भुवनसिंह आलेमगरको प्रमुख आतिथ्यतामा भएको साधारणसभामा प्रतिष्ठानका ज्येष्ठ आजीवन सदस्यलाई सम्मान गरिएको थियो । प्रतिष्ठानले तेजप्रसाद सिटौला, मधुसुदन घिमिरेलगायतलाई दोसल्ला ओढाएर सम्मान गरेको हो ।
साधारणसभाले प्रतिष्ठानका अध्यक्ष गंगानाथ पोखरेलले प्रस्तुत गर्नुभएको प्रगति प्रतिवेदन, लेखा समिति संयोजक अर्जुन भण्डारीले प्रस्तुत गर्नुभएको लेखा समितिको प्रतिवेदन तथा सचिव रोहिणी कोइरालाले प्रस्तुत गर्नुभएको वार्षिक प्रतिवेदन पारित गरेको थियो ।
कार्यक्रममा प्रतिष्ठानको भवन निर्माण समितिका सहसंयोजक दिनेश राउत, प्रतिष्ठानका सल्लाहकार लुबराज आचार्य, पञ्चायत मावि व्यवस्थापन समितिका अध्यक्ष पोष्टकुमार श्रेष्ठ, प्रतिष्ठानको भवन निर्माणको लागि जग्गा दान गर्नुहुने हीरा भट्टराई, भुल्के मन्दिर व्यवस्थापन समितिका अध्यक्ष नरेन्द्र उप्रेती, समाजसेवी लोकप्रसाद सङ्ग्रौला, देवराज तामाङ, शिक्षाविद् उमेश उप्रेतीलगायतले प्रतिष्ठानले गरेका कामको प्रशंसा गर्दै उत्तरोत्तर प्रगतिको कामना गर्नुभएको थियो ।
प्रतिष्ठानका सल्लाहकार सुरज बिष्टले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।
प्रतिष्ठानमा रिक्त रहेको कार्यसमिति सदस्य पदमा साधारणसभाले भगवती श्रेष्ठलाई सर्वसम्मत चयन गरेको थियो ।







