Sunday, January 11, 2026
Homeफिचरआज पृथ्वीनारायण जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइँदै

आज पृथ्वीनारायण जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइँदै

विराटचोकः राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको ३०४ औँ जन्मजयन्ती आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।

गोरखामा वि.सं १७७९ मा जन्मिएका शाह आधुनिक नेपालको एकीकरण अभियानका नेतृत्वकर्ता मानिनुहुन्छ । शाहले राष्ट्रको एकीकरण अभियानमा पुर्याएको योगदानको स्मरण गर्दै दिवस मनाइने गरिन्छ ।

राजतन्त्र रहुञ्जेल धुमधामका साथ मनाइँदै आएको यो दिवस गणतन्त्रपछि मनाउन छोडिएको थियो । सो दिवसमा दिइने सार्वजनिक बिदा पनि कटौती गरिएको थियो । राजतन्त्रको पक्षमा उभिएको राष्ट्रिय प्रजातन्त्र पार्टीले मात्रै सो दिवस मनाउने गरेको थियो । पछि राष्ट्रिय प्रजातन्त्र पार्टीसहितको सरकार बनेको समयदेखि यो दिवसमा पुनः सार्वजनिक बिदा दिन थालिएको छ ।

पृथ्वी जयन्तीका अवसरमा आज राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले चियापान समारोहको आयोजना गरेको छ । राप्रपाले सो समारोहमा प्रधानमन्त्री, विभिन्न राजनीतिक दलका शीर्षनेता, पूर्वप्रधानमन्त्री र विभिन्न व्यक्तित्वलाई आमन्त्रण गरेको छ । शाहको जन्मस्थान गोरखामा हरेक वर्ष यो दिवस विशेष कार्यक्रम गरी मनाउने गरिएको छ ।

नेपाली सेनाले पनि पृथ्वी जयन्तीका अवसरमा हरेक वर्ष सैनिक मुख्यालय भवन जङ्गीअड्डा परिसरमा रहेको राष्ट्र निर्माताको पूर्णकदको सालिकमा माल्यार्पण गरी सम्मान प्रकट गर्दै आएको छ ।

तत्कालीन गोरखाका राजा शाहले विभिन्न सामाजिक, आर्थिक र भौगोलिक चुनौतीबीच जनताको उत्साहजनक सहयोग तथा सहभागितामा छरिएर रहेका बाइसे, चौबीसे राज्यलाई एकीकृत गरेका शाहको १८३१ सालमा ५२ वर्षको उमेर निधन भएको थियो । उनले २० वर्षको उमेरमा गद्दीआरोहण गर्दै तत्कालीन आन्तरिक तथा बाह्य शक्तिलाई पराजित गरेर एकीकरण अभियान सञ्चालन गरेका थिए ।

यो दिवसमा व्यक्तिगत हितभन्दा माथि उठेर राष्ट्रहितलाई प्राथमिकता दिनु नै सशक्त र समावेशी मुलुक निर्माणको आधार भएको तथ्यलाई स्मरण गराउँदछ । युवापुस्तालाई मातृभूमिप्रति समर्पण, सेवा र जिम्मेवारीको भावना जागृत गर्नमा यस दिवसको विशेष महत्व छ । शाहको एकीकरण अभियानले राष्ट्रिय स्वाधीनता र सार्वभौमिकतालाई अक्षुण्ण राख्ने आधार तयार गरेका कारण विश्वका पुराना स्वतन्त्र राष्ट्रमध्ये नेपाल एक रहन पुगेको छ ।

शाहले आफ्नो शासनकालमा दिएका ‘घुस लिने र दिने दुवै राष्ट्रका शत्रु हुन्’ भन्नेलगायत दिव्योपदेश आज पनि भ्रष्टाचार न्यूनीकरण र सुशासन प्रवद्र्धन गर्ने सन्दर्भमा त्यत्तिकै समयसान्दर्भिक छन् । भौगोलिक अवस्थाको पाटोलाई ध्यान दिँदै उनले नेपाललाई दुई ढुङ्गाबीचको तरुलको सङ्ज्ञा दिएका थिए ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments