काठमाडौंः नेकपा एमालेले जेनजी अभियन्ता मानिएका सुदन गुरुङलाई ‘काउण्टर’ दिन गोरखाबाट गुण्डा नाइके भनेर चिनिने मिलन गुरुङ (चक्रे मिलन) लाई उम्मेद्वार बनाउने भएको छ । एमाले गोरखाले क्षेत्र नं २ बाट प्रतिनिधि सभाको लागि मिलनको नाम सर्वसम्मत सिफारिश गरेको छ ।
सुदन गुरुङले गोरखाबाट उम्मेद्वार हुने बताइसकेका छन् । उनले क्षेत्र तोक्न बाँकी छ । सुदनले जुन क्षेत्रबाट उम्मेद्वारी दिन्छन् सोही क्षेत्रबाट एमालेले मिलनलाई उठाउने तयारी पार्टीले गरेको बताइएको छ ।
पहिल्यैदेखि तुलनात्मक रुपमा एमाले कमजोर रहेको जिल्ला हो गोरखा । २०४८ यता २०५६ सम्मका तीनवटा निर्वाचनमा कांग्रेसमय रहेको जिल्ला त्यसपछि भने माओवादीमय भएको छ । माओवादी र कांग्रेसलगायतका पार्टीहरुको गठबन्धन भएको गत आम निर्वाचनमा गोरखा क्षेत्र नं २ बाट माओवादी अध्यक्ष प्रचण्ड र क्षेत्र नं १ बाट कांग्रेसका राजेन्द्र बजगाई विजयी भएका थिए ।
राष्ट्रिय स्वतन्त्र पार्टीप्रति झुकाव राख्ने सुदनको घर गोरखाको क्षेत्र नं १ को चुमनुब्री गाउँपालिका वडा नं २ नाक्चेत गाउँमा पर्छ । मिलनको घर क्षेत्र नं २ को सिरानचोक गाउँपालिका–५ छोप्राकमा पर्छ । मिलन आपराधिक तथा गुण्डागर्दी क्षेत्रका चर्चित पात्र हुन् भने जेनजी आन्दोलनपछि चर्चित बनेका सुदन अराजक अभिव्यक्ति र विवादित पृष्ठभूमिका कारण चर्चित छन् ।







