विराटचोकः मोरङको सुन्दरहरैँचा नगरपालिकाबाट पनि करदाता सेवा प्रवाह आजदेखि औपचारिक रूपमा शुरु गरिएको छ ।
आज सुन्दरहरैंचा नगरपालिका, आन्तरिक राजस्व कार्यालय विराटनगर र करदाता सेवा कार्यालय विराटचोकको संयुक्त आयोजनामा भएको कार्यक्रममा सेवाको शुभारम्भ गरिएको हो । नगरप्रमुख केदारप्रसाद गुरागाईंको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्थानीय सेवाग्राहीलाई व्यावसायिक प्रमाणपत्र तथा व्यक्तिगत स्थायी लेखा नम्बर जारी गर्दै सेवा प्रवाह शुरु गरिएको हो ।
प्रशासनिक हस्तान्तरणमार्फत् संघीयता सुदृढ बनाउन महत्वपूर्ण टेवा पुग्ने आन्तरिक राजस्व कार्यालय विराटनगरका प्रमुख केशवकुमार उप्रेतीले बताउनुभयो ।
प्रमुख प्रशासकीय अधिकृत गणेशराज कार्कीले नागरिकले सहज र सरल ढङ्गले सेवा पाउने गरी काम गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
उद्योग संगठन मोरङका वरिष्ठ उपाध्यक्ष भोलेश्वर दुलालले स्थानीय सरकारबाट करदाता सेवा शुरु हुनु खुसीको विषय भएको बताउँदै अन्तःशुल्क लिन विराटनगर जानुपर्ने अवस्था अझै रहँदा झन्झटिलो कायमै रहेको बताउनुभयो ।
नगरप्रमुख गुरागाईंले हालको जनशक्तिले तोकिएअनुसार सेवा दिन सक्षम रहेको उल्लेख गर्दै गुणस्तरीय र छिटो सेवा उपलब्ध गराइने विश्वास दिलाउनुभयो ।
कार्यक्रममा उपप्रमुख अकली चौधरी, कार्यपालिका सदस्यहरू, सुन्दरहरैँचा उद्योग वाणिज्य संघ र सुन्दरदुलारी उद्योग वाणिज्य संघका प्रमुख एवं पदाधिकारीहरू, विभिन्न बैंक तथा वित्तीय संस्थाका प्रमुख, विभिन्न संघसंस्थाका प्रतिनिधि तथा व्यवसायीहरूको उपस्थिति रहेको थियो ।







