ठडियाः एशियन हाइवे निर्माणको क्रममा मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नम्बर ७ ठडियामा अलकत्रा तयारी प्लाण्ट स्थापना हुने भएपछि स्थानीयले त्यसको विरोध गर्ने भएका छन् ।
परिवर्तन टोल विकास संस्थाको अगुवाइमा आज भेला भएका सुन्दरहरैंचा नगरपालिकाको वडा नम्बर ७ का विभिन्न टोल विकास संस्थाका प्रतिनिधिले यस्तो निर्णय गरेका हुन् ।
मधाहा एकता टोल विकास संस्थाका सचिव हरिश्चन्द्र ढुङ्गानाले जनस्वास्थ्य, कृषि बाली, वातावरणलगायतमा नकारात्मक असर पार्ने भएकाले सो प्लाण्ट हटाउनुपर्ने बताउनुभयो ।
बेलगाछी टोल विकास संस्थाका अध्यक्ष नरबहादुर गुरुङले प्लाण्ट राख्न अनुमति दिनुअघि जनप्रतिनिधिले ध्यान दिन नसकेको आरोप लगाउनुभयो । स्थानीयवासीसँग समन्वय नगरी प्लाण्ट राख्न दिनु जनप्रतिनिधिको कमजोरी भएको उहाँको भनाइ थियो ।
चन्द्रसूर्य टोल विकास संस्थाका अध्यक्ष हरिप्रसाद आचार्यले स्थानीयवासीसँग समन्वय नगरी अलकत्रा प्लाण्ट राख्नु जनप्रतिनिधि र कम्पनीको कमजोरी भएको बताउनुभयो । आफूहरु विकास विरोधी नरहेको तर वातावरण प्रदूषण नहुने गरी र स्थानीयलाई असर नपर्ने गरी काम गरिने प्रतिबद्धता सडक निर्माण आयोजनाले गर्नुपर्ने उहाँको भनाइ थियो ।
परिवर्तन टोल विकास संस्थाकी अध्यक्ष सीता दाहालले आफ्नो समस्या लिएर वडा कार्यालय, नगरपालिका र सडक निर्माण योजनाको फिल्ड कार्यालय गएको बताउनुभयो ।
परिवर्तन टोल विकास संस्थाका सचिव कुमार सुवेदीले आफूहरु विकासविरोधी नभए पनि बस्तीको बीचमा तथा जनस्वास्थ्यको ख्याल नगरी प्लाण्ट निर्माण नगरी बस्तीदेखि टाढा प्लाण्ट निर्माण होस् भन्ने चाहना टोलवासीको रहेको बताउनुभयो ।
टोल विकास संस्थाहरुको संयुक्त बैठकमा उपस्थित सम्पूर्ण स्थानीयले टोलवासीसँग जनप्रतिनिधि र निर्माण कम्पनीले समन्वय नगरेकोमा आश्चर्य, चिन्ता र आक्रोश उत्पन्न भएको बताएका थिए ।
सुन्दरहरैंचा नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष भुवनसिंह मगरले टोल विकासले वडालाई ध्यानाकर्षण गराएको र सार्वजनिक सुनुवाइ वा अन्य जानकारीमूलक कार्यक्रम राख्न आफू सहमत भएको बताउनुभयो ।








