विराटचोकः सुपर खुदी हाइड्रोपावर लिमिटेडले आजदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्काशन गर्ने भएको छ ।
कम्पनीले जारी पूँजी १ अर्ब ५५ करोड रुपैयाँको २० प्रतिशत अर्थात् ३१ करोड रुपैयाँ बराबरको ३१ लाख कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो । जसमध्ये १५ करोड ५० लाख रुपैयाँबराबरको प्रतिशेयर १०० रुपैयाँ दरका १५ लाख ५० हजार कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूका लागि निष्काशन गर्न लागेको हो । जसमध्ये ४० प्रतिशत अर्थात् ६ लाख २० हजार कित्ता साधारण शेयर लमजुङ जिल्लाको आयोजना प्रभावित क्षेत्र मस्र्याङ्दी गाउँपालिकाको वडा नं. २ र ३ का स्थानीय बासिन्दाहरूमा बाँडफाँड गरिनेछ भने बाँकी ६० प्रतिशत अर्थात ९ लाख ३० हजार कित्ता साधारण शेयर मस्र्याङ्दी गाउँपालिका वडा नं. १, ४, ५, ६, ७, ८ र ९ का स्थानीय बासिन्दाहरूमा बाँडफाँड गरिनेछ ।
यसका साथै सर्वसाधारण लगानीकर्ताहरूका लागि छुट्याइएको शेयरको १० प्रतिशतले हुन आउने १ करोड ५५ लाख रुपैयाँबराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित दरका १ लाख ५५ हजार कित्ता साधारण शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगार गरिरहेका नेपालीहरूका लागि निष्काशन हुनेछ ।
सो आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा १ लाख कित्ताका लागि आवेदन दिन सकिनेछ । आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूका लागि निष्काशन बन्द छिटोमा माघ ६ गते र ढिलोमा माघ २१ गते हुनेछ । त्यस्तै, वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्काशन बन्द छिटोमा पुस २५ गते र ढिलोमा माघ ६ गते हुनेछ ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । स्थानीय बासिन्दाले प्रभु बैंक, ग्लोबल आइएमई बैंक, कृषि विकास बैंक र प्राइम कमर्सियल बैंकको बेसीशहर शाखा र हिमालयन बैंकको भुलभुले शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूले शेयर खरिद आवेदन प्राप्त गर्नका लागि दरखास्त फाराम बापत २ रुपैयाँ शुल्क बुझाउनु पर्नेछ ।
वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरूबाट सि आस्बा प्रणालीमार्फत् आवेदन दिन सक्नेछन् ।
कम्पनीले सञ्चालन गरेको २६ मेगावाटको माथिल्लो खुदी जलविद्युत आयोजनाको कुल लागत ५ अर्ब ३८ करोड ४ लाख ११ हजार रुपैयाँ रहेको छ भने प्रतिमेगावाट लागत २० करोड ६९ लाख ३८ हजार रुपैयाँ रहेको छ । सो जलविद्युत आयोजनाको विद्युत अनुमतिपत्र २७ वर्ष ५ महिना बाँकी रहेको छ। यस आयोजनाको साधारण लगानी फिर्ता हुने अवधि ७.२१ वर्ष रहेको छ भने डिस्काउण्टमा लगानी फिर्ता हुने अवधि १३.४२ वर्ष रहेको छ ।







