लेटाङः मोरङको लेटाङ नगरपालिकाले उपभोक्ताहरुको सुविधालाई मध्यनजर गर्दै वडासम्मै पुगेर योजना सम्झौता गर्न थालेको छ । यसै क्रममा शुक्रबार वडा नम्बर ५ मा पुगेर योजनाहरुको सम्झौता गरिएको छ ।
उपभोक्ता समूहका पदाधिकारीहरुले योजना सम्झौताका लागि धेरै पटक नगरपालिकासम्म धाएर हैरानी खेप्न नपरोस् भन्ने उद्देश्यले नगरपालिकाले गत वर्षदेखि शुरु गरेको यो कार्यक्रमलाई यस वर्ष पनि निरन्तरता दिएको हो ।
यस वर्ष वडा नम्बर ९ बाट वडामै पुगेर योजना सम्झौता गर्ने कार्य शुरु गरेको नगरपालिकाले शुक्रबार वडा नम्बर ५ मा पुगेर योजना सम्झौता गरेको हो । योजना सम्झौताका लागि गएका बेला योजना सञ्चालन, सम्झौता र भुक्तानी लगायतका विषयमा उपभोक्ता समूहका पदाधिकारीहरुलाई अभिमुखीकरण समेत गर्ने गरिएको छ ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शशि राई, योजना शाखाका प्रमुख चेतनाथ गौतम, अधिकृत सुदीप घिमिरे, आन्तरिक लेखा परीक्षक सरोज सुवेदी र इञ्जिनियर भानुभक्त राईले उपभोक्ता समितिका पदाधिकारीहरुलाई योजना कार्यान्वयनका विविध पक्षबारे सबिस्तार जानकारी दिनुभएको थियो ।
सबै वडामा तालिका बनाएर नै योजनाहरुको सम्झौताका लागि जाने गरेको योजना शाखा प्रमुख चेतनाथ गौतम बताउनुुहुन्छ ।







