विराटचोकः लोकप्रिय लोकभजन गायक टेकराज पोखरेलले आफ्नो नयाँ भजन ‘श्री स्वस्थानी देवी तिमी’ लिएर दर्शकमाझ आएका छन् ।
श्री स्वस्थानी व्रतकथा शुभारम्भसँगै यही १८ पुसमा कोहिनुर मिडिया प्रालिको युट्युब च्यानलमार्फत् सार्वजनिक गरिएको यस भजनमा श्री स्वस्थानी माताको गुणगान गाइएको छ भने यो भजन गण्डकी प्रदेशको स्थानीय लोकलयमा गाइएको छ ।
यस भजनमा शब्द धनकला पौडेलको छ भने संगीत तथा कम्पोजिसन गायक पोखरेल र उनको समूहको छ । यसैगरी, हरिप्रसाद पोखरेल, सरु न्यौपाने पोखरेल, कौशिला पोखरेल, भक्तिराम पोखरेललगायतले भजनमा स्वर दिएका छन् । भजनको नृत्य निर्देशन प्रमिता पोखरेलले गरेकी छिन् ।
यसअघि उनका ‘रिङ्दै घुम्दै,’ ‘बाँसुरी हरायो मेरो,’ ‘जय हरहर गंगा,’ ‘दुर्गा भजन’ लगायतका भजनहरू सार्वजनिक भइसकेका छन् । पोखरेल ‘राष्ट्रिय लोक भजन चुड्का संकृति संरक्षण प्रतिष्ठान बागमती प्रदेश’का महासचिव हुन् ।







