विराटचोकः पछिल्लो समय नयाँनयाँ साहित्यिक गतिविधिमा सक्रिय कोसी साहित्य कला परिषद्को स्रष्टा भेटघाट कार्यक्रमअन्तर्गत प्राध्यापक गोविन्दराज भट्टराई र अञ्जना भट्टराईसँग भेटघाट तथा अन्तरक्रिया सम्पन्न भएको छ ।
कार्यक्रममा आफ्नो भनाइ राख्नुहुँदै प्राध्यापक तथा सर्जक गोविन्दराज भट्टराईले सिर्जना गर्नु ईश्वरको तपस्या भएको बताउनुभयो । शरीरलाई खानपिनमात्रै गराएर राख्ने होइन लेखपढमा लगाउने बानी गर्नुपर्ने उहाँको भनाइ थियो । विद्यावारिधीपश्चात् आफ्नो काम साहित्यसाधनमा केन्द्रित रहेको उहाँले बताउनुभयो । पद, प्रतिष्ठा, पुरस्कार पाउने, नपाउनेमा ध्यान केन्द्रित नगरी निरन्तर लेखिरहनुपर्ने र वर्षमा एउटा कृति प्रकाशित गर्नुपर्ने बताउनुभयो । गद्य लेखनमा नै साहित्यको सुन्दरता झल्किने उहाँको भनाइ थियो ।
प्राध्यापक तथा सर्जक अञ्जना भट्टराईले आफूले पढ्ने समयको परिवेशको बारेमा सुनाउँदै पढ्नको लागि भोगेको सङ्घर्ष सुनाउनुभएको थियो ।
परिषद्का सल्लाहकार छवि वैरागीले सर्जक तथा प्राध्यापक भट्टराई दम्पत्तिलाई सुन्दरहरैंचामा ल्याउने चाहना धेरै पहिलेदेखिको भए पनि बल्ल चाहना पूरा भएको बताउनुभयो ।
सोमबार दिउँसो परिषद्का सल्लाहकार वैरागीको निवास सुन्दरहरैंचाको विराटचोकमा भएको कार्यक्रममा झापा र मोरङका साहित्यकारको उपस्थिति रहेको थियो ।
परिषद्का अध्यक्ष केशु विरहीको सभापतित्वमा भएको कार्यक्रममा भानु साझा पुस्तकालयका अध्यक्ष पुरन याक्खाले स्वागत मन्तव्य राख्नुभएको थियो ।







