विराटचोकः ८० वर्षको उमेरमा बंगलादेशकी पूर्वप्रधानमन्त्री तथा बंगलादेश नेशनलिस्ट पार्टी (बिएनपी) की अध्यक्ष बेगम खालिदा जियाको निधन भएको छ ।
आज बिहान उहाँको निधन भएको बिएनपीको मिडिया सेलले सामाजिक सञ्जालमार्फत् पुष्टि गरेको छ । उहाँ पछिल्ला केही महिनादेखि अस्वस्थ हुनुहुन्थ्यो र ढाकास्थित एभरकेयर अस्पतालमा उपचाररत हुनुहुन्थ्यो ।
चार दशकभन्दा बढी समय बंगलादेशको राजनीतिमा सक्रिय खालिदा जिया आफ्ना पति जियाउर रहमानको हत्यापछि राजनीतिमा प्रवेश गर्नुभएको थियो । सन् १९८१ मा राष्ट्रपति रहेका जियाउर रहमानको हत्या भएपछि उहाँले बिएनपीको नेतृत्व सम्हाल्नुभएको थियो ।
उहाँ सन् १९९१ मा बंगलादेशको पहिलो महिला प्रधानमन्त्री बन्नुभएको थियो । सन् २००१ मा पुनः सत्तामा फर्केर २००६ सम्म सरकारको नेतृत्व गर्नुभएको थियो ।







