Friday, December 26, 2025
Homeस्थानीयदेशमै पहिलो पटक मोरङको केराबारीबाट स्थानीय तहमार्फत् करदाता सेवा शुरु

देशमै पहिलो पटक मोरङको केराबारीबाट स्थानीय तहमार्फत् करदाता सेवा शुरु

केराबारीः सरकारले केही समय घोषणा गरेअनुसार साविक करदाता सेवा कार्यालयमार्फत दिइँदै आएका करसम्बन्धी सेवाहरू अब स्थानीय तहबाटै प्रदान हुन थालेका छन् ।

यसै क्रममा मोरङको केराबारी गाउँपालिकाले देशमै पहिलो पटक स्थानीय तहबाट कर सेवा प्रवाहको औपचारिक आरम्भ गरेको छ। पुस ९ गते आयोजित कार्यक्रममा नेपाल सरकारका अर्थ तथा संघीय मामिला एवं सामान्य प्रशासन मन्त्री रामेश्वर खनालले केराबारी गाउँपालिकाबाटै कर सेवा प्रणालीको उद्घाटन गर्नुभएको हो ।

‘दि–भाइब्स क्याफे एण्ड रेष्ट्रो’ की सञ्चालक पवित्रा खवासलाई खनालले पहिलो व्यवसायिक प्रमाणपत्र तथा चित्रकुमार तामाङलाई व्यक्तिगत स्थायी पान नम्बर परिचयपत्र हस्तान्तरण गर्नुभएको हो ।

नेपाल सरकारले गत कात्तिक ७ गते करदाता सेवा कार्यालय हटाएर त्यहाँबाट दिइँदै आएका सेवाहरू स्थानीय तहबाटै उपलब्ध गराउने निर्णय गरेकोमा केराबारी गाउँपालिका र आन्तरिक राजस्व कार्यालय विराटनगरबीच द्विपक्षीय सहमति भएको थियो । सोही सहमतिअनुसार केराबारीमा कर सेवा प्रणाली लागू गरिएको हो ।

कार्यक्रममा मन्त्री खनालले केराबारीबाट सुरु गरिएको यो अभ्यासलाई क्रमशः देशभर विस्तार गरिने बताउनुभयो ।

गाउँपालिका अध्यक्ष सुमन मिरिङचिङ मगरले संघीयताको मर्मअनुसार कर सेवा प्रणाली पनि स्थानीय तहबाटै सञ्चालन गर्नुपर्ने आवश्यकता महसुस गरी सबै प्रक्रिया पूरा गरेर सेवा सुरु गरिएको स्पष्ट पार्नुभयो ।

सेवा शुभारम्भको औपचारिक उद्घाटन कार्यक्रममा अर्थ मन्त्रालयका सहसचिव भुपाल बराल, राजस्व व्यवस्थापन महाशाखा प्रमुख उत्तरकुमार खत्री, आन्तरिक राजस्व विभागका महानिर्देशक मदन दाहाल, भन्सार विभाग प्रमुख श्यामप्रसाद भण्डारीलगायतको उपस्थिति रहेको थियो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments