भेडेटारः अङ्ग्रेजी नयाँ वर्षको अवसर पारेर हरेक वर्ष धनकुटाको भेडेटारमा हुने १३ औँ भेडेटार फुड फेस्टिभल यस वर्ष पुस १६, १७ र १८ गते हुने भएको छ ।
आयोजक होटल एसोसिएसन भेडेटारका अनुसार फुड फेस्टिभलमा कम्तीमा पनि ३० हजार पर्यटकको आगमन हुने अपेक्षा गरिएको छ । सो फेस्टिभलमा आन्तरिक तथा बाह्य पर्यटकहरूलाई आकर्षित गर्न जातीय खानाको प्रदर्शनी, अर्गानिक तरकारी र फलफूल, हस्तकला र घरेलु उत्पादन, मौलिक सांस्कृतिक झाँकी, स्थानीय तथा राष्ट्रिय कलाकारको प्रस्तुति, माउन्टेन बाइक, प्याराग्लाइडिङ र जिप लाइन मुख्य आकर्षक रहनेछन् ।
होटल एसोसिएसन भेडेटारका पूर्व अध्यक्ष लीलाराज लावतीका अनुसार भेडेटारमा रहेका १५० हाराहारीका होटलका साथै नाम्जे र डाँडा बजारका होमस्टेहरूमा एकै पटक ४००–५०० पर्यटक अटाउन सक्ने क्षमता रहेको हुनाले बास बस्दै आउने पर्यटकलाई पनि असुविधा नहुने देखिन्छ ।
होटल एसोसिएसन भेडेटारका अध्यक्ष तुमराज लिम्बूका अनुसार फुड फेस्टिभलले स्थानीय जातीय र अर्गानिक खानाको प्रवद्र्धनसँगै होटेल, होमस्टे र पर्यटन व्यवसायमा नयाँ ऊर्जा थपेको छ ।
साँगुरीगढी गाउँपालिकाको कृषि विकास शाखामार्फत फेस्टिबलमा कृषि मेला प्रदर्शनी सञ्चालन हुने भएको छ । गाउँपालिकाका कृषकले आफ्ना उत्पादन प्रदर्शनीमा राख्न सक्नेछन् ।
फेस्टिभलका मुख्य आयोजक होटल एसोसिएसन भेडेटार र सह–आयोजकमा प्राकृतिक वातावरण स्रोत तथा पर्यटन भेडेटार र भेडेटार आमा समूह रहेका छन् । २ करोड ५० लाख रुपैयाँ बराबरको आर्थिक कारोबार फेस्टिभल अवधिमा हुने अनुमान गरिएको आयोजकले जनाएको छ ।







