लेटाङः २०६७ सालमा नै सर्पदंश उपचार केन्द्र स्थापना गरिएको भए पनि गत वर्षदेखि निःशुल्क रुपमा सर्पदशंको उपचार सेवा लेटाङ नगरपालिकाले दिइरहेको छ ।
सर्पदंश उपचार केन्द्र सञ्चालनका क्रममा समस्या आएपछि नगरपालिकाले गत वर्ष मंसिरमा आधिकारिक रुपमा सामुदायिक सर्पदंश तथा प्राथमिक उपचार सेवा केन्द्र लेटाङ नाममा दर्ता गरी सुविधा सम्पन्न भवनबाट २४ घण्टे सेवा शुरु गरेको हो ।
सर्पदंश उपचार केन्द्र सञ्चालनका लागि नेपाली सेनाको शिक्षालयले २ जना विज्ञ स्वास्थ्यकर्मी उपलब्ध गराएको छ भने नगरपालिकाले चिकित्सकको सेवा उपलब्ध गराएको छ । उपचारका क्रममा आवश्यक औषधि समेत नगरपालिकाले व्यवस्थापन गरी निःशुल्क रुपमा उपलब्ध गराउँदै आएको छ ।
शुरुमा लेटाङ नगरपालिकाभित्रका बिरामीका लागि मात्र निःशुल्क सेवा दिने गरिएकोमा पछिल्लो समय सबै पालिकाका बिरामीहरुलाई निःशुल्क सेवा दिन थालिएको छ । यसवर्ष मात्रै ५१ जनाले सेवा लिइसकेका छन् ।
सर्पदंश उपचारका लागि मानिस आपतकालीन अवस्थामा आउने र कतिपय विपन्न परिवारका हुने भएकाले नगरपालिकाले निर्णय गरी सबै बिरामीहरुलाई निःशुल्क रुपमा सेवा उपलब्ध गराउन थालेको नगर उपप्रमुख कृष्णकुमारी निरौला बताउनुहुन्छ ।
यसअघि नेपाली सेनाको शिक्षालय उत्तरमा रहेको कच्ची भवनमा सञ्चालित सर्पदंश उपचार केन्द्रलाई नेपाली सेनाको शिक्षालयको प्रवेशद्वार नजिकै पक्की भवन निर्माण गरी स्थानान्तरण गरेर व्यवस्थित रुपमा सञ्चालन हुन थालेको हो ।







