इटहरीः उच्च शिक्षामा नवीनता, अनुसन्धान र दिगोपनलाई केन्द्रमा राखेर शनिबार सुनसरीको इटहरीस्थित जनता बहुमुखी क्याम्पसमा प्रथम जेएमसी अन्तर्राष्ट्रिय शैक्षिक तथा प्राज्ञिक सम्मेलन सुरु भएको छ ।
सम्मेलनको नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री डा.मीनेन्द्र रिजालले उद्घाटन गरे । डा. रिजालले उच्च शिक्षा क्षेत्रलाई समयसापेक्ष, अनुसन्धानमुखी र अन्तर्राष्ट्रिय मापदण्डअनुसार अघि बढाउन यस्ता सम्मेलनहरूले महत्वपूर्ण भूमिका हुने बताए ।
आयोजकका अनुसार सम्मेलनमा ११२ वटा अनुसन्धानात्मक कार्यपत्र प्रस्तुत हुनेछन् । जनता बहुमुखी क्याम्पस सञ्चालक समिति अध्यक्ष विकास केसीका अनुसार ‘उच्च शिक्षामा नवीनता, अनुसन्धान र दिगोपन’ मुख्य विषयवस्तु बनाएर देश–विदेशका बौद्धिक तथा प्राज्ञिक व्यक्तिहरूले कार्यपत्र प्रस्तुत गर्नेछन् ।
इटहरी–५ स्थित क्याम्पस प्राङ्गणमा सुरु भएको अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलन आज सम्पन्न हुनेछ । सम्मेलनका प्रमुख वक्ताहरूमा त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायका डिन प्रोफेसर डा. महानन्द चालिसे, त्रिवि सेनासका कार्यकारी निर्देशक डा. मृगेन्द्र कार्की, भारतको बाबा मस्तनाथ विश्वविद्यालयका पूर्व उपकुलपति प्रा. एच.एल. बर्मा तथा कोलम्बिया विश्वविद्यालय टिचर्स कलेजका डा. प्रेम फ्याक रहेका छन् ।
सम्मेलनमा १५ वटा प्लेनरी स्पिच, ४ वटा फिचर्ड स्पिच र एक प्यानल डिस्कसन समावेश छन् । सम्मेलनलाई थप आकर्षक र बहुआयामिक बनाउन कविता वाचन, विचार गोष्ठी, अन्तरक्रियात्मक पोस्टर प्रदर्शनी, विद्यार्थी प्रतिभा जागरण सत्र, कार्यशाला लगायतका विविध कार्यक्रमहरू सञ्चालन हुने भएका छन् ।







