काठमाडौंः एघारौं महाधिवेशनमार्फत् चयन भएको नेकपा एमालेको नयाँ पदाधिकारी टिममा ८ जना पहिलो पटक निर्वाचित भएका छन् । एमालेको नेतृत्वका लागि दुई समूहबीच प्यानल नै बनाएर निर्वाचन भएको थियो ।
अध्यक्षमा केपी शर्मा ओली र ईश्वर पोखरेलबीच प्रतिष्पर्धा भएको थियो । अन्तिम मतपरिणाम अनुसार, एमाले नेतृत्वमा सबैजसो केपी शर्मा ओली प्यानलबाटै पदाधिकारीका उम्मेदवारहरू निर्वाचित भएका छन् । उपमहासचिवमा योगेश भट्टराई र उपाध्यक्षमा गोकर्ण विष्ट बाहेक सबै ओली प्यानलबाट पदाधिकारी निर्वाचित भएका हुन् ।
यसपटक एमालेको पदाधिकारीमा ८ जना पहिलो पटक निर्वाचित भएका छन् । उपाध्यक्षमा निर्वाचित भएका रघुजी पन्त पदाधिकारीमा नयाँ हुन् ।
त्यस्तै, सचिव पदमा निर्वाचित खगराज अधिकारी, यामलाल कँडेल, राजन भट्टराई, शेरधन राई, हिक्मत कार्की, भानुभक्त ढकाल र महेश बस्नेत छन् ।







