काठमाडौंः गत महिना सम्पन्न नेपाली क्रिकेटको सर्वाधिक ठूलो महोत्सव नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणमा केही नयाँ रेकर्ड बनिएका छन् ।
गत वर्षको उपविजेता सुदूर पश्चिम रोयल्सलाई यस पटक पनि उपविजेता बनाउँदै दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सले उचालेको छ । उपाधिसँगै विजेता टिमले १ करोड १० लाख रुपैयाँ पुरस्कार पाएको छ । उपविजेताले ५१ लखमा चित्त बुझाएको छ । यस्तै, प्रतियोगितामा तेस्रो भएको विराटनगर किङ्सले २५ लाख र चौथो स्थानमा पुगेको काठमाडौँ गोर्खाजले १५ लाख रुपैयाँ पुरस्का पाएका छन् ।
यी हुन् दोस्रो संस्करणमा बनेका रेकर्डहरू
बलिङ, ब्याटिङ
ब्याटिङ र बलिङमा केही नयाँ रेकर्ड बनेका छन् । यो संस्करणमा दुई टिमका दुई बलरले ह्याट्रिक गरे । लुम्बिनीका कप्तान रोहित पौडेल र काठमाण्डु गोर्खाजका साहब आलमले लगातार बलमा तीन विकेट लिन सफल भए ।
पौडेलले फाइनल म्याचमा ह्याट्रिक विकेट लिएका थिए । आलमले समूह चरणमा पोखरा एभेन्जर्सविरुद्ध ह्याट्रिकसहित ६ विकेट लिए । उनी एनपीएलका एकै खेलमा सर्वाधिक विकेट लिने बलर बने । त्यसअघि चितवन राइनोजका रञ्जितकुमारले एकै खेलमा पाँच विकेट लिएका थिए ।
एनपीएलमा ५०० रन कटाउने एकमात्रै नेपाली खेलाडी लुम्बिनीका कप्तान रोहित पौडेल बने । एनपीएलको दुई सिजन सम्पन्न हुँदा उनले व्यक्तिगत ५०० रन कटाए । दुवै सिजनमा गरेर १७ खेलबाट ५५५ रन जोड्दै एनपीएलमा सर्वाधिक व्यक्तिगत रनका धनी बन्न पुगे । उनलाई सुदूरपश्चिम रोयल्सका ओपनर विनोद भण्डारीले ४९९ रन बनाएर पछ्याएका छन् । यसअघि चितवन राइनोजका विदेशी खेलाडी रवि बोपराले ५०० रन पूरा गरेका थिए । उनले १५ खेलमा ५२३ रन बनाएका छन् ।
शतक र अर्धशतकतर्फ
दोस्रो संस्करणमा २ शतक बनेका छन् । सबै शतक विदेशी खेलाडीले बनाएका हुन् ।
पोखरा एभेन्जर्सका एडम रोसिङ्टन र कर्णाली याक्सका मार्क वाटले मात्रै शतक प्रहार गरे । रोसिङ्टनले कर्णाली याक्सविरुद्धको खेलमा ५५ बलमा शतक पूरा गरेका हुन् । ५८ बल खेलेका एडम १०८ रनमा अविजित रहे । कर्णालीलाई ३४ रनले हराएको यो खेलमा एडम ‘प्लेयर अफ द म्याच’ घोषित भएका थिए । उनी इङ्गल्याण्डका हुन् ।
यस्तै, कर्णाली याक्समा अनुबन्ध स्कटल्याण्डका मार्क वाट दोस्रो संस्करणमा शतक हिर्काउने पहिलो खेलाडी बने । उनले लुम्बिनी लायन्सविरुद्धको खेलमा ४१ बलमा शतक बनाएका थिए । यो एनपीएलको सर्वाधिक छिटो शतक पनि हो । ४४ बल खेलेका वाट ११४ रनमा अविजित रहे । यो खेल कर्णालीले नौ विकेटले जित्यो । जसमा वाट ‘प्लेयर अफ द म्याच’ समेत चुनिए । वाट सबैभन्दा छिटो शतक प्रहार गर्ने र एकै खेलमा सबैभन्दा बढी रन बनाउने खेलाडीसमेत बनेका छन् ।
पहिलो संस्करणको एकमात्र शतक अमेरिकी खेलाडी आन्द्रिज गोउसको नाममा छ । पोखराको टोलीमा आवद्ध गोउसले लुम्बिनीविरुद्ध शतक जोडेका थिए । गोउसले ५४ बलमा शतक पूरा गरेका हुन् । उनी १०४ रनमा अविजित रहेका थिए ।
एनपीएलको दोस्रो संस्करणमा ३६ अर्धशतक प्रहार भए । जसमा २९ खेलाडी सामेल छन् । २९ खेलाडीमध्ये नौ नेपाली खेलाडीले मात्रै अर्धशतक बनाए ।
सुदूर पश्चिम रोयल्सका विनोद भण्डारीले दुई, पोखरा एभेन्जर्सका कप्तान कुशल भुर्तेलले दुई–दुई अर्धशतक जोडेका छन् । यस्तै, सुदुरका इशान पाण्डे, विराटनगर किंग्सका लोकेश बम र बसिर अहमद, चितवनका अर्जुन साउँद, काठमाडौंका भीम सार्की, जनकपुरका अनिल शाह र आशिफ शेखले एक\एक अर्धशतक प्रहार गरेका थिए ।
विदेशी खेलाडीमा चितवन राइनोजका रवी बोपराले तीन, पोखराका एडम रोसिङटन, सञ्जय कृष्णमूर्ति र कर्णाली याक्सका प्रियान्क पन्चालले दुई\दुई अर्धशतक हिर्काए । सुदूर पश्चिम रोयल्सका जोश ब्राउन, हरमित सिंह, क्रिश लिन, विराटनगर किंग्सका साम हिजलेट, फाफ डु प्लेसिस, मार्टिन गुप्टिल, पोखराका सुमित बर्मा, जिमी निशम, रिसि धवन, चितवनका डेविड मलान, काठमाडौँ गोर्खाजका जोन सिम्प्सन, बेन चाल्र्सवर्थ, कर्णालीका मार्क वाट, लुम्बिनीका डार्सी सर्ट, जनकपुर बोल्ट्सका वायन पार्नेल, माज सदाकतले एकएक अर्धशतक बनाए ।
काठमाडौँ गोर्खाजका भीम सार्कीले छिटो अर्धशतक बनाउने रेकर्ड राखे । सार्कीले पोखरा एभेन्जर्सविरूद्ध १९ बलमै अर्धशतक पूरा गरेका थिए । विराटनगर किंग्सका फाफ डु प्लेसिस र सुदूर पश्चिम रोयल्समा आबद्ध खेलाडी हर्मित सिंहले पनि १९ बलमा अर्धशतक जोडेका थिए ।
अघिल्लो संस्करणमा भने सो संस्करणको विजेता जनकपुर बोल्ट्सका जिमी निशमले १८ बलमै अर्धशतक जोडेका थिए ।
विकेट र रन
दोस्रो संस्करणमा सर्वाधिक विकेट लिने शीर्ष तीन बलरमा सबै नेपाली रहेका छन् । विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने, सुदूर पश्चिमका अविनाश बोहरा र लुम्बिनी लायन्सका शेर मल्लले समान १७÷१७ विकेट लिएका छन् । बलिङ इकोनोमीका हिसाबले सन्दीप पहिलो, अभिनाश दोस्रो र शेर तेस्रो नम्बरमा पुगेका हुन् ।
सर्वाधिक रनकर्ताको शीर्ष स्थान विदेशीले ओगट्दा त्यसपछि दोस्रो र तेस्रो नम्बरमा भने नेपाली ब्याटर छन् । पोखराका एडम रोसिङटन ३२३ रन बनाएका थिए । उनले सात खेलबाट एक शतक र दुई अर्धशतकको मद्दतमा ३२३ रन बनाएका हुन् ।
लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले १० खेलबाट २७६ रन बनाए । सुदूर पश्चिमका विनोद भण्डारीले ९ खेलबाट दुई अर्धशतकको मद्दतमा २६४ रन जोडे ।
उच्च स्कोर र खराब स्कोर दुवै विराटनगर किंग्सको नाममा
एनपिएलकोे हालसम्मको इतिहासमै उच्च स्कोर बनाउने टिम विराटनगर किंग्स हुन पुगेको छ । दोस्रो संस्करणमा उसले पोखरा एभेन्जर्सविरुद्ध २२० रन बनाएको थियो । जुन एनपिएल इतिहासकै उच्च स्कोर हो । दोस्रो उच्च स्कोर बनाउनेमा पोखरा रहेको छ । पोखराले कर्णाली याक्सका विरुद्ध २०१ रन जोडेको थियो ।
त्यस्तै, दोस्रो संस्करणमा सबैभन्दा कम स्कोर बनाउनेको सूचीमा पनि विराटनगर किंग्स नै रह्यो । सुदूर पश्चिमविरुद्धको पहिलो ‘क्वालिफायर’ खेलमा विराटनगर १४ दशमलव एक ओभरमा ७८ रनमा अलआउट भएर सबैभन्दा कम रनमा अलआउट हुने रेकर्ड पनि बनाउन पुग्यो ।
बढी रनअन्तरले जित्नेमा सुदूर पश्चिम
एनपीएलको दोस्रो संस्करणमा सबैभन्दा ठूलो रनअन्तरको जीत हासिल गर्ने टोली सुदूर पश्चिम रोयल्स बनेको छ । सुदूर पश्चिम रोयल्सले विराटनगर किंग्सलाई ७७ रनको फराकिलो अन्तरले हराएको थियो । सुदूर पश्चिमविरुद्धको पहिलो ‘क्वालिफायर’ खेलमा विराटनगर १४ दशमलव एक ओभरमा ७८ रनमा अलआउट भएर सबैभन्दा कम रनमा अलआउट हुने रेकर्ड बनिँदा सुदूर पश्चिमले बढी रनअन्तरले जित्ने टोलीमा नाम लेखाएको हो ।
दोस्रो ठूलो रनअन्तरको जीत भने विरानगटर किंग्सको नाममा रहेको छ । विराटनगर किंग्सले पोखरा एभेन्जर्सलाई ५३ रनले हराएको थियो ।
तेस्रो ठूलो रनअन्तरको जीत काठमाण्डु गोर्खाजको नाममा छ । उसले चितवन राइनोजलाई ५३ रनले पराजित गरेको थियो ।
एनपीएलको पहिलो संस्करणमा भने सबैभन्दा ठूलो रनअन्तरको जीत सुदूर पश्चिम रोयल्सको थियो । उसले विराटनगर किंग्सलाई ९० रनको फराकिलो अन्तरले हराएको थियो । एनपिएलको दुवै संस्करणमा सुदूरपश्चिम रोयल्सले विराटनगर किंग्सलाई नै सबैभन्दा ठूलो रनअन्तरले हराउँदै कीर्तिमानी बनाएको छ ।
दोस्रो संस्करणमा विकेटका आधारमा सबैभन्दा ठूलो अन्तरको जीत कर्णाली याक्सको नाममा रह्यो । कर्णालीले लुम्बिनी लायन्सलाई नौ विकेटले हरायो । एनपिएलको पहिलो संस्करणमा भने विकेटका आधारमा ठूलो अन्तरको जीत पोखरा एभेन्जर्सको नाममा रहेको थियो । पोखराले लुम्बिनी लायन्सलाई १० विकेटले हराएको थियो । पहिलो र दोस्रो दुवै संस्करणमा विकेटका अधारमा सबैभन्दा ठूलो अन्तरको हार बेहोर्ने टोली लुम्बिनी बन्यो ।
दोस्रो संस्करणमा सबैभन्दा कम रनअन्तरको जीत पनि कर्णाली याक्सको नाममा छ । कर्णालीले लिग चरणको अन्तिम खेलमा साविक विजेता जनकपुर बोल्ट्सलाई केवल तीन रनले हराएको थियो ।
प्रतियोगितामा पहिलो विकेटका लागि चितवनका अर्जुन साउँद र डेभिड मलानले जनकपुरविरुद्ध ११२ र दोस्रो विकेटका लागि विराटनगरका लोकेश बम र मार्टिन गप्टिलले पोखराविरुद्ध १३२ रनको उच्च साझेदारीको रेकर्ड छ ।
सबैभन्दा बढी क्याच लिने खेलाडीमा विराटनगरका शमूएल डेली हेजलेट र सुदूर पश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरी रहे । दुवै खेलाडीले ११\११ बल समाते । यसका साथै सुदूर पश्चिमका विकेटविकर विनोद भण्डारीले सात क्याच र तीन स्टाम्पिङ गरेर १० जनालाई आउट गराएका थिए ।
छक्का
कर्णालीका मार्क वाटले प्रतियोगिताभर सबैभन्दा बढी २१ छक्का प्रहार गरे । सबैभन्दा बढी पटक शून्यमा अर्थात् डकआउट हुनेमा सुदूर पश्चिमका जोश ब्राउन, लुम्बिनीका सुमित महर्जन र सन्दीप जोरा तथा जनकपुरका आसिफ शेख रहेका छन् । यी सबै खेलाडी तीनतीन पटक डकआउट भएका खराब रेकर्ड छ ।
लगातार दोस्रो पटक ट्रफी उचाल्ने खेलाडी शेर मल्ल
खेलाडी शेर मल्ल लगातार दोस्रो पटक ट्रफी उचाल्नेमा परे । पहिलो संस्करणमा जनकपुरबाट खेलेर च्याम्पियन बनेका शेर दोस्रो पटक लुम्बिनीबाट खेले । यसरी उनी दुवै संस्करणमा उपाधि उचाल्ने खेलाडीमा परे । पहिलो संस्करणको उपाधि जनकपुरले र दोस्रो संस्करणको उपाधि लुम्बिनीले उचाले ।







