काठमाडौंः सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो सिजनको विजेता लुम्बिनी लायन्स बनेको छ । उसले साविक उपविजेता सुदूरपश्चिम रोयल्सलाई यस पटक पनि उपविजेतामै सीमित गरिदिएको छ ।
सुदूर पश्चिमले दिएको ८६ रनको सामान्य लक्ष्य लुम्बिनीले ९ ओभरमै ४ विकेट गुमाएर पूरा गर्दै च्याम्पियन बनेको हो । लुम्बिनी पछिल्ला ६ खेलमा लगातार जीत हात पारेको छ ।
लुम्बिनीका ओपनर दिनेश अधिकारीले सुदूर पश्चिमका कप्तान दीपेन्द्र सिंह ऐरीलाई पहिलो ओभरमै ४ छक्का प्रहार गरेपछि लुम्बिनीले २७ रन जोडेको थियो । उनले १३ बलमा १ चौका र ५ छक्का प्रहार गर्दै ४२ रन बनाए ।
पहिलो विकेटका लागि दिनेशले डार्शी सर्टसँग ४ ओभरमै ५८ रनको साझेदारी गरेका थिए । तर हेमन्त धामीले पाँचौ ओभरमा सर्ट र दिनेश दुवैलाई आउट गर्दै साझेदारी तोडेका थिए । सर्ट १४ बलमा १३ रन बनाएर पाँचौ ओभरको पहिलो बलमा बोल्ड भए । यस्तै हेमन्तले दिनेशलाई सोही ओभरको तेस्रो बलमा स्कट कुगेलेइनबाट क्याचआउट गराए ।
कप्तान रोहितले १२ बलमा २ चौका र १ छक्का प्रहार गरी १६ रन योगदान गरे । निरोशन डिकवेलाले १२ बलमा अविजित ११ रन बनाए । दिलिप नाथले विजयी रन जोडेका थिए ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको साविक उपविजेता सुदूरपश्चिम रोएल्सले १९.१ ओभरमा ८५ रनमै अलआउट भएको थियो ।
सुदूरपश्चिमले बनाएको ८५ रन एनपीएलको फाइनलको कम योगफल हो ।
सुदूरपश्चिमका लागि ओपनिङ गरेका इशान पाण्डेले सर्वाधिक ३३ रन बनाएका थिए ।







