Monday, December 23, 2024
Homeकृषिअब आँप र ओखर खेतीको पनि बीमा हुने

अब आँप र ओखर खेतीको पनि बीमा हुने

काठमाडौंः कृषि बीमामा किसान तथा व्यापारीहरुको आकर्षण बढेपछि नेपाल बीमा प्राधिकरणले फलफूल खेतीको बीमाअन्तर्गत ‘आँप खेती बीमालेख’ र ‘ओखर खेती बीमालेख’ जारी गरेको छ ।

किसान तथा व्यवसायीलाई राहत हुनेगरी प्राधिकरणले फलफूलबीमा अन्तर्गत आँप र ओखर बीमालेख एकैपटक जारी गरेको हो । यी बीमा लेखमार्फत् आँप र ओखर खेती गर्ने किसानहरुले पुस १६ गतेदेखि नै ओखर र आँप खेतीको बीमा बिक्री गर्न सक्नेछन् । यी खेतीको बीमामा आफ्नो फसलको विभिन्न कारणबाट क्षति भएमा बीमा कम्पनीले क्षतिपूर्ति प्रदान गर्नेछ ।

जसअनुसार अग्निजन्य क्षति, हावाजन्य क्षति, पानीजन्य क्षति, मौसमजन्य क्षति, भूमिजन्य क्षति, चट्याङजन्य क्षति, रोग तथा कीराजन्य क्षति, आकस्मिक तथा दुर्घटनाजन्य वा बाह्यकारणहरुबाट हुने क्षतिको क्षतिपूर्ति पाइनेछ ।

बीमित स्वयम्को पनि दुर्घटना बीमा सुविधा रहेको छ । बीमाअवधिभित्र बीमितको विभिन्न अवस्था सिर्जना भई अङ्गभङ्ग भएमा दुर्घटना बीमाको सुविधा प्राप्त हुनेछ । बीमितको दुर्घटनाबाट मृत्यु भएमा, स्पााइनल इन्जुरीको कारण पुनः ठीक नहुने गरी मेरुदण्डको हड्डी काम नलाग्ने भएमा, एक वा दुवै हातको नाडीदेखि माथि पुरै हात र दुवै खुट्टाको गोलीगाँठो देखि माथि पुरै खुट्टा काम नलाग्ने भएमा वा दुवै आँखाको दृष्टि गुमेमा दुर्घटना बीमाबापत बीमा कम्पनीले २ लाख रुपैयाँ बीमितलाई भुक्तानी गर्नुपर्नेछ ।

बीमालागत र उत्पादनको आधारमा बीमा गर्न सकिने र ओखर खेतीको सात वर्षसम्म लागतको आधारमा मात्र र त्यसपछि उत्पादन (फल) वा लागत (बोट) वा दुवैको आधारमा बीमा गर्न सकिने भएको छ ।

कलमी बिरुवाको हकमा ओखर खेतीको ३ वर्षसम्म लागतको आधारमामात्र र त्यसपछि उत्पादन (फल) वा लागत (बोट) वा दुवैको आधारमा बीमा गर्न सकिने भएको छ ।

प्राधिकरणका अनुसार लागतका आधारमा आँपको बोटको उमेर १२ महिनादेखि ४० वर्षसम्मको प्रतिबोट उत्पादन लागत खर्च १ हजार ९९० रुपैयाँदेखि ४ हजार ५५० रुपैयाँसम्म लाग्नेछ ।

त्यस्तै, उत्पादनमा आधारित बोटको उमेर पाँच वर्ष पूरा भएको बोटदेखि ४० वर्षसम्मको बोटमा न्यूनतम ५० केजी आँपदेखि अधिकतम ११५ केजी आँपसम्मको बीमा गराउन सकिनेछ ।

यस बीमालेख बमोजिम जारी हुने आँप खेतीको बीमा शुल्क लागतको आधारमा ५ प्रतिशत र उत्पादनको आधारमा ७ प्रतिशत कायम हुनेछ ।

साथै यस बीमा लेखमा उल्लेख भएको दुर्घटना बीमाबापत बीमाशुल्क प्रतिबीमित ५०० रुपैयाँ लाग्नेछ ।

ओखर खेती बीमालेख बमोजिम गरिने ओखर खेतीको बीमाशुल्क गणना गर्दा लागतको आधारमा ५ प्रतिशत र उत्पादनको आधारमा ७ प्रतिशत बीमाशुल्क लाग्नेछ । साथै यस बीमालेखमा उल्लेख भएको दुर्घटना बीमाबापत बीमाशुल्क प्रतिबीमित ५०० रुपैयाँ लाग्नेछ ।

आँप र ओखर खेतीको बीमाङ्क निर्धारणका लागि अनुसूची–४ मा भएको तालिकालाई आधार मान्नुपर्नेछ ।

आँप र ओखर खेतीको दाबी भुक्तानी अनुसूची–८ बमोजिम गर्नुपर्ने छ ।

बीमा कम्पनीले लागतको आधारमा गरिएको आँप खेतीको बीमाको दाबी भुक्तानीगर्दा अनुसूची–८ बमोजिमको दाबी भुक्तानी तालिकाको आधारमा लिई गर्नुपर्नेछ । उत्पादनको आधारमा गरिएको आँप खेतीको दाबी उत्पादनकै आधारमा गरिने प्राधिकरणले बताएको छ ।

उत्पादन (फल) र लागतको (बोट) दुबैको आधारमा गरिएको आँप खेतीमा बीमा दाबी परेमा सोही उत्पादन र लागतकै आधारमा बीमा कम्पनीले दाबी भुक्तानी गर्नुपर्नेछ ।

तर एक सिजनको फल टिपिसकेपछि पुनःअर्को सिजनमा फल लाग्न चाहिने अवधिभित्र बोटमा कुनै क्षति भएमा लागतको आधारमा मात्रै दाबी गर्न सकिने पनि प्राधिकरणले जानकारी दिएको छ ।

प्राधिकरणले यसअघि फलफूल बीमाअन्तर्गत किबी, केरा, ड्रागन फ्रुट, सुन्तला तथा जुनार जस्ता फलफूलको बीमालेख जारी गरिसकेको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments