काठमाडौंः विश्वका १९५ देशको ‘मोस्ट वाण्टेड’को सूचीमा रहेकी यांगचेन लाचुंगपा भारतमा पक्राउ परेकी छिन् ।
विगत १० वर्षदेखि विश्वका लगभग सबै देशले पक्राउको सूचीमा राखेका र इण्टरपोलले सर्वाधिक खोजी गरिरहेका अभियुक्तमध्ये यांगचेनको पक्राउले जङ्गली जनावरको शिकार र व्यापारको एउटा ठूलो जालो तोडिन सक्ने विश्लेषण गरिएको छ । उनी बाघको छाला तस्करीको लागि विश्वमै सबैभन्दा ठूलो सञ्जाल सञ्चालन गरेको प्रहरीले जनाएको छ ।
सीमावर्ती क्षेत्रमा बिहीबार राती फिल्मी शैलीमा पक्राउ गरिएको वाइल्ड लाइफ क्राइम कण्ट्रोल ब्युरो (डब्लुडब्लुसिसिबी)का अधिकारीहरुले जानकारी दिएका छन् । उनी माइनस ७ डिग्री तापक्रम भएको स्थानमा बसिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको थियो ।
उनको गिरोहका कैयौं व्यक्ति विभिन्न देशमा पक्राउ परे पनि उनी भने विश्वभरकै प्रहरीलाई छक्याउँदै पक्राउ पर्नबाट बच्दै आएकी थिइन् । उनी बघिनीको रूपमा समेत चिनिन्छन् ।
उनीविरुद्ध नेपालसहित विश्वका दर्जनौ देशमा अनेकौं मुद्दा रहेको बताइएको छ । सन् २०१३ मा नेपाल प्रहरीले कथित रूपमा तिब्बतमा ओसारपसार गरिँदै गरेको भन्दै नुवाकोट जिल्लामा पाँच वटा बाघको छाला र सात बोरा हड्डी जफत गरेको थियो । त्यो ‘बघिनी’ कै ग्रुपले गराएको भनिए पनि उनी पक्राउ भने परेकी थिइनन् ।
प्रहरीका अनुसार सन् २०२२ यता भारतमा मात्र उनको समूहका ३१ जना तस्करहरु पक्राउ परेकामध्ये २७ जना हाल कारागार चलान भइसकेका छन् ।







