काठमाडौंः त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी सिद्धार्थ वैंक नेपाल प्रिमियर लिग (एनपीएल) मा आइतबार प्लेअफ दौडबाट बाहिरिइसकेका जनकपुर बोल्ट्स र कर्णाली याक्सबीचको खेलमा कर्णाली याक्स विजयी भएको छ । विजयी र पराजित दुवै टिम लिग चरणबाटै यसअघि नै बाहिरिइसकेका थिए ।
कर्णालीसँगको पराजयसँगै गत वर्षको उपाधी विजेता जनकपुर यस वर्ष सबैभन्दा पुछारमा रहन बाध्य भयो । जनकपुरले यो वर्ष लिग चरणका ७ मध्ये एउटा खेलमात्रै जित्यो । कर्णालीले २ खेल जितेर छैटौँ स्थानमा रह्यो ।
आइतबार भएको लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई ३ रनले पराजित गरेको हो ।
कर्णालीले दिएको १३० रनको लक्ष्य पनि जनकपुरले पछ्याउन सकेन । जनकपुरले २० ओभरमा ७ विकेट गुमाएर १२६ रन मात्रै बनाउन सक्यो ।
जनकपुरका लागि सञ्जय कृष्ण मूर्तिले सर्वाधिक ५१ रन बनाए पनि जीत दिलाउन सकेनन् । त्यस्तै सङ्गीत कोरेले २५ रन बनाउँदा माज शदागदले १२ रन जोडे । बलिङमा कर्णालीका विलियम बोसिष्टोले सर्वाधिक २ विकेट लिए ।
टस हारेर ब्याटिङको निम्तो पाएको कर्णालीले २० ओभरमा ९ विकेट गुमाएर १२९ बनाएको थियो । कर्णालीका ओपनर इम्रान शेखले सर्वाधिक ३३ रन बनाएका थिए ।
चितवन राइनोजसँग खेलेको लिग चरणको पाँचौँ खेलबाहेक अन्य कुनै पनि खेलमा जीत निकाल्न नसकेपछि साबिक विजेता जनकपुर अङ्क तालिकाको पुछारमा रहँदै यस पटक घर फर्किएको छ ।
लिग चरणका खेल सकिएपछि मैदान व्यवस्थापनका लागि आज कुनै खेल राखिएको छैन । प्रतियोगिता अन्तर्गत भोलि बेलुका ४ बजे पहिलो क्वालिफायर खेल सुदूर पश्चिम रोयल्स र विराटनगर किङ्सबीच प्रतिष्पर्धा हुनेछ ।
सुदूर पश्चिम अङ्क तालिकाको शीर्ष र विराटनगर दोस्रो स्थानमा पुगेर पहिलो क्वालिफायर खेल्ने पक्का गरेका हुन् । सुदूर पश्चिमले लिग चरणका सात खेलमध्ये छ वटा र विराटनगरले सातमध्ये पाँच वटा खेल जितेको थियो ।
सुदूर पश्चिमले विराटनगरसँग मात्रै लिग चरणमा पराजय भोग्नुपरेको थियो । विराटनगर चितवन र लुम्बिनीसँग पराजित भएको थियो ।







