काठमाडौंः कृषि तथा पशुपन्छी विकास मन्त्रालयले कृषि क्षेत्रको विकासका लागि देशभर कृषि सर्वेक्षण शुरु गरेको छ । मन्त्रालयले सबै स्थानीय तह, प्रदेशको कृषि मन्त्रालयलगायत सरोकार भएका निकायसँगको समन्वयमा तथ्याङ्क सङ्कलन शुरु गरेको जनाएको छ ।
तथ्याङ्क लिँदा दोहोरो गणना हुन सक्ने भएकाले एकद्वार प्रणालीबाट स्थानीय तहसँग समन्वय र सहकार्य गरिएको मन्त्रालयका तथ्याङ्क शाखाले जनाएको छ । कृषि उत्पादन, पशुपालन, लागत, बजारीकरण, आम्दानी, सिँचाइ, पूर्वाधारको अवस्थालगायत विस्तृत विषयवस्तुलाई तथ्याङ्क सङ्कलन गरिने भएको छ ।
गणकले किसानसँग प्रत्यक्ष भेटेर कृषि सर्वेक्षण गरिरहेका छन् । नमूना विधिका माध्यमबाट सङ्कलन गरिने तथ्याङ्कमा पहिलो चरणमा छ लाख किसान छनोट गरिने बताइएको छ । तीमध्येबाट ५१ हजार किसान छनोट गरी कृषि क्षेत्रमा उनीहरूको अनुभव तथा सरकारबाट प्रवाह गरिएका सेवा, सहुलियतमा लक्षित वर्गको पहुँच तथा समस्या पहिचान गरी आधिकारिक तथ्याङ्क सङ्कलन गरिने बताइएको छ ।
राष्ट्रिय जनगणना र कृषि गणनापछिको महत्त्वपूर्ण राष्ट्रियस्तरको कार्यक्रमका रूपमा कृषि सर्वेक्षणलाई लिइएको छ । देशभर तथ्याङ्क सङ्कलन भएपछि त्यसलाई थप अध्ययन गरी अन्तिम परिणाम आगामी पुससम्म सार्वजनिक गरिने कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।







