गछियाः ९ वटा सहकारी एक भएर उदाहरणीय कार्य गरेको कनकलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाले संस्था स्थापनाको छैटौं वर्षको अवसर पारेर ११२ जनालाई सम्मान तथा पुरस्कार प्रदान गरेको छ ।
हिजो रणकाली मन्दिर सुन्दरहरैंचामा आयोजित कार्यक्रममा संस्थाले ५७ जना असल ऋणीलाई प्रशंसापत्र, संस्थाको लोगो अङ्कित कप र जनही ३०० रुपैयाँ प्रदान गरेको हो ।
संस्थाले १६ जना ज्येष्ठ शेयर सदस्यलाई सम्मानपत्र, दोसल्ला र नगद ५०० रुपैयाँ प्रदान गरी सम्मान गरेको छ ।
त्यस्तै, धेरै पटक रेमिट कारोबार गर्ने ३ जनालाई प्रशंसापत्र र नगद ५०० रुपैयाँ प्रदान गरेको छ ।
असल बचत नियमित कारोबारतर्फ १५१ जनामध्ये गोलाप्रथाबाट ५ जनालाई सम्मान गरिएको छ । उनीहरुलाई सम्मानपत्रका साथमा जनही नगद १ हजार रुपैयाँ प्रदान गरिएको थियो ।
संस्थाले अधिक संरक्षित पूँजी फिर्ता गर्ने २ जना सदस्यलाई प्रशंसापत्र र नगद १ हजार रुपैयाँ प्रदान गरेको छ ।
उत्कृष्ट बाल बचतकर्तातर्फ ६ जनाले प्रशंसपत्र र जनही नगद ५०० रुपैयाँ प्राप्त गरेका छन् ।
कक्षा ११ र १२ को परीक्षामा उत्कृष्ट अङ्क ल्याउने शेयर सदस्यका सन्तानलाई प्रशंसापत्र र नगद १ हजार रुपैयाँ प्रदान गरिएको थियो । १० जना विद्यार्थीले सो सम्मान पाएका थिए ।
विद्यावारिधी गर्ने संस्थाका शेयर सदस्य डा. पदमप्रसाद बिमलीलाई ताम्रपत्र र दोसल्लाले सम्मान गरिएको थियो ।
संस्थाका कर्मचारीमध्ये अनिष श्रेष्ठ उत्कृष्ट कर्मचारी घोषित हुँदै नगद ३ हजारको साथमा ताम्रपत्र पाए ।
सहकारी अभियन्तातर्फ कानेपोखरी निवासी ताराबहादुर काफ्ले र सुन्दहरैंचा निवासी स्वर्गीय रामबहादुर राईका छोरा देवेन्द्र राईलाई दोसल्ला र ताम्रपत्र प्रदान गरिएको थियो ।
सहकारीको लघुवित्त समूहमध्ये सबैभन्दा उत्कृष्ट वित्तीय सुशासन कायम गर्ने समूह नम्बर ४ गोठगाउँ लघुवित्त समूहलाई ३ हजार रुपैयाँका साथमा प्रशंसापत्र प्रदान गरिएको थियो ।
संस्थाको स्थापना दिवसको पूर्वसन्ध्यामा भएको सुन्दरहरैंचाका माध्यमिक विद्यालयस्तरीय हाजिरीजवाफमा पहिलो, दोस्रो र तेस्रो हुने विद्यालयलाई पनि कार्यक्रममा पुरस्कृत गरिएको थियो ।
सो प्रतियोगितामा साजीलाल मावि पहिलो भएर १० हजार रुपैयाँ पुरस्कार पाएको छ । दोस्रो हुने सुकुना माविले ७ हजार ५०० रुपैयाँ र तेस्रो हुने पञ्चायत माविले ५ हजार रुपैयाँ र प्रमाणपत्र पाएका छन् ।







