विराटचोकः शेयर लगानीकर्ताका लागि ६ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । आज साइन रेसुङ्गा डेभलपमेन्ट बैंक, सर्वोत्तम सिमेन्ट, नेपाल इन्फ्रास्ट्रक्चर बैंक, कृषि विकास बैंक, बरुण हाइड्रोपावर र ङादी ग्रुप पावरको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ साइन रेसुङ्गा, सर्वोत्तम सिमेन्ट र नेपाल इन्फ्रास्ट्रक्चर बैंकले भोलि मंसिर १२ गते बुकक्लोज गर्दैछन् । कृषि विकास बैंक, बरुण हाइड्रोपावर र ङादी ग्रुप पावरले मंसिर १४ गते आइतबार बुक क्लोज गर्दैछन् । बुक क्लोजको अघिल्लो दिनसम्म कायम शेयरधनीले लाभांश पाउने हुनाले शुक्रबार र आइतबार बुक क्लोज घोषणा गरेका कम्पनीको शेयर किन्ने आज अन्तिम दिन हो ।
आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले यी कम्पनीहरुको साधारण सभामा सहभागिता जनाउन तथा यी कम्पनीहरुले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।
साइन रेसुङ्गाले मंसिर २६ गते होटल सेफ्रन सि.के.प्रा.लि., बुटवल, रुपन्देहीमा सत्रौँ वार्षिक साधारण सभा बोलाएको छ । सभाले हाल कायम चुक्ता पूँजीको ३ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थसहित १० प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।
त्यस्तै, सर्वोत्तम सिमेन्टले मंसिर २६ गते होटल सिद्धार्थ भिलासा, भैरहवा, रुपन्देहीमा सातौँ वार्षिक साधारण सभा बोलाएको छ । सो सभाले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थसहित १५ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।
नेपाल इन्फ्रास्ट्रक्चर बैंकले मंसिर २३ गते अनुपम फुडल्याण्ड एण्ड ब्याङ्क्वट, बत्तिसपुतली, काठमाडौँमा सातौँ वार्षिक साधारण सभा बोलाएको छ । सो सभाले हाल कायम चुक्ता पूँजीको ६.३१५८ प्रतिशतका दरले नगद लाभांश (कर प्रयोजनार्थसहित) पारित गर्नेछ ।
कृषि विकास बैंकले मंसिर २९ गते आफ्नो केन्द्रीय तालिम प्रतिष्ठान बोडे, भक्तपुरमा उन्नाइसौँ वार्षिक साधारण सभा डाकेको छ । सो सभाले हाल कायम चुक्ता पूँजीको ३.५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थसहित ९.७५ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।
बरुण हाइड्रोपावरले मंसिर २६ गते स्मार्ट दरबार शंखपार्क, काठमाडौँमा २२ औँ वार्षिक साधारण सभा बोलाएको छ । सो सभाले हाल कायम चुक्ता पूँजीको ४.७५ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.२५ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।
ङादी ग्रुप पावरले मंसिर २५ गते स्मार्ट दरबार शंखपार्क काठमाडौँमा बाह्रौँ वार्षिक साधारण सभा बोलाएको छ । सो सभाले हाल कायम चुक्ता पूँजीको ४.७५ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.२५ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।







