दुलारीः सहकारी संस्था लिमिटेड दुलारी सुन्दरहरैंचा–६ को साधारणसभा आज संस्थाको सभाहलमा सम्पन्न भएको छ । साधारणसभाले संस्था सञ्चालक समिति र लेखा सुपरीवेक्षण समितिले पेश गरेका तीन वटा प्रतिवेदन पारित गरेको छ ।
संस्था सञ्चालक समिति अध्यक्ष चैतन्यप्रसाद सिटौलाले संस्थाको गत आर्थिक वर्षको प्रगति प्रतिवेदन तथा चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो । साधारणसभाले ती प्रतिवेदन तथा नीति र कार्यक्रम पारित गरेको हो ।
संस्थाका व्यवस्थापक रमेशप्रसाद रिजालले संस्थाको गत आर्थिक वर्षको आम्दानी र खर्चको यथार्थ तथा चालु आर्थिक वर्षको अनुमान प्रस्तुत गर्नुभएको थियो । आन्तरिक लेखा तथा सुपरीवेक्षण समितिकी अध्यक्ष ईशवरवतीकुमारी माझीले लेखा समितिको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । साधारणसभाले ती प्रतिवेदन पनि पारित गरेको छ ।
साधारणसभामा उत्कृष्ट बचतकर्ता सुस्मिता तामाङ र उत्कृष्ट ऋणी सीताराम खड्कालाई सम्मान गरिएको थियो । संस्थाबाट हालै सेवानिवृत्त हुनुभएका व्यवस्थापक लोकबहादुर तामाङलाई पनि प्रशंसापत्र प्रदान गरिएको थियो ।
साधारणसभालाई सम्बोधन गर्नुहुँदै संस्थाको सञ्चालक समितिका पूर्व अध्यक्ष कृष्णप्रसाद भुर्तेलले सुन्दरहरैंचाको पुरानो सहकारीको रुपमा रहेको संस्थाको साख गिर्न दिन नहुने सुझाव दिनुभयो ।
संस्थाका अध्यक्ष चैतन्यप्रसाद सिटौलाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव चिरञ्जीवी रेग्मीले गर्नुभएको थियो । स्वागत मन्तव्य संस्थाकी उपाध्यक्ष विमला श्रेष्ठले राख्नुभएको थियो ।







