Tuesday, March 10, 2026
Homeफिचरजेन जी आन्दोलनः सरकार अपदस्थ हुनुका कारण र अन्तरिम सरकारका चुनौती

जेन जी आन्दोलनः सरकार अपदस्थ हुनुका कारण र अन्तरिम सरकारका चुनौती

सानु कार्की, बस्नेत
नेपालमा व्याप्त भ्रष्टाचारको विरोध र दर्ता हुन नआएका फेसबुक, इन्स्ट्राग्राम, ह्वाटसअप, ट्वीटर, युट्युबलगायतका २६ वटा सामाजिक सञ्जालको प्रतिबन्ध फुकुवाको माग राख्दै जेन जी पुस्ताले थालेको सडक आन्दोलनले नेपालको राजनीति उथलपुथल भयो ।

मूलतः दुई दलीय अप्राकृतिक गठबन्धनबाट निर्माण भएको सनकी शासक खड्गप्रसाद ओलीको निरङ्कुश सरकार अपदस्थ भयो । जेन जीको समर्थनमा नेपालको पहिलो महिला प्रधान न्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन भई प्रतिनिधि सभा विघटन र फागुन २१ गते निर्वाचन मिति घोषणा भयो ।

– के हो जेनजी पुस्ताको आन्दोलन ?
सन् १९९७ देखि २०१२ सम्म जन्मिएका मानिसको युवा पुस्ता जेन जी (जेनेरेशन जेड) पुस्ता हो । सूचना प्रविधि, इन्टरनेट, स्मार्टफोन र सामाजिक सञ्जालसँगै जन्मिएका, हुर्किएका र सक्रिय भएका यस पुस्ताको आन्दोलन अभियान नै जेन जी आन्दोलन हो ।

प्रविधिको दृष्टिकोणमा पुस्तालाई ५ भागमा विभाजन गरिएको छ ।
१. जेन एक्स पुस्ताः– सन् १९६५ देखि १९८० सम्म जन्मिएका र रेडियो, टि भि, कम्प्युटरसँग जानकार पुस्ता ।
२. जेन वाई पुस्ताः– सन् १९८१ देखि १९९७ सम्म जन्मिएका र इन्टरनेट, स्मार्टफोन, सामाजिक सञ्जालप्रति परिचित पुस्ता ।
३. जेन जेड पुस्ताः– सन् १९९७ देखि २०१२ सम्म जन्मिएका र युट्युब, टिकटक, इन्स्ट्राग्राम र ह्वाट्सअपसँगै हुर्किएका पुस्ता ।
४. जेन अल्फा पुस्ताः– सन् २०१३ देखि २०२४ सम्म जन्मिएका र युट्युब, टिकटक, इन्स्ट्राग्राम र ह्वाट्सअप प्रविधिमै जन्मिएका हुर्किएका पुस्ता ।
५. जेन बिटाः– सन् २०२५ देखि २०२९ सम्म जन्मने र एआई र रोबोटसँग हुर्कने र घुलमिल हुने पुस्ता ।

जेन जी पुस्ताले विश्वमा सन् २०२४÷२०२५ मा केन्या, मङ्गोलिया, सर्विया, इन्डोनेसिया, माली, युक्रेन, फ्रान्स आदि देशमा भ्रष्टाचार, आर्थिक असमानता, महङ्गी, अलोकतान्त्रिक शासन, जलवायु परिवर्तन विरुद्ध आवाज उठाएको, आन्दोलन र अभियान चलाएको पाइन्छ ।

जेन जी आन्दोलनको नकरात्मक पक्ष
१.नेतृत्वविहीन आन्दोलन हुँदा आन्दोलनको वैधतामा प्रश्न उठ्ने,
२. जनसमर्थन कमजोर पार्न आन्दोलनमा घुसपैठ हुने खतरा
३. आन्दोलन हिंसात्मक, चरमउत्कर्ष र अव्यवस्थित भई भविष्यमा के गर्ने भन्ने योजना र कार्यक्रमको अभाव हुने आदि ।

नेपालमा जेन जी आन्दोलन
भ्रष्टाचार र सामाजिक सञ्जाल प्रतिबन्धविरुद्ध जेन जी पुस्ताले २०८२ भदौ २३ गते शुरु गरेको सडक आन्दोलनले संसद भवन कब्जा गर्न जाँदा प्रहरीसँग मुठभेड भयो । नेपाल आमाको लागि छातीमा गोली खान तयार छौँ भन्दै सडकमा उत्रिए, हतियार बोक्नेसँग कलम बोकेर आएकाको केही जोर चलेन । १९ जना युवा शहीद भए ।

भदौ २४ गते दोस्रो दिन सामाजिक सञ्जाल खुला भएपछि जेन जी आन्दोलनका भिडियोहरू भाइरल भई सडकमा जेन जीहरुको ओइरो लाग्यो । पब्जी, फ्रिफायर जस्ता मोबाइल गेममा लडाइँ गर्ने, आगो लगाउने, बन्दुक चलाउने गेम खेल्ने जेन जीहरू निडरतापूर्वक आन्दोलनमा आए । अर्कोतिर जेन जीको आन्दोलनमा सरकारविरोधी राप्रपा, रास्वपा, माओवादी समर्थक जेन जीहरू मिसिए । आन्दोलनले एकाएक शहरी विद्रोहको फ्युजन गर्यो ।

आन्दोलनले उग्र रूप लिएपछि अप्राकृतिक गठबन्धनमा रहेको सरकारका प्रधानमन्त्री खड्गप्रसाद ओलीले प्रधानमन्त्री पदबाट राजीनामा दिए ।

उता नेपाली सेना सिंहदरबार, सर्वोच्च अदालत लगायतका महत्वपूर्ण कार्यालय जोगाउन नलागी प्रधानमन्त्री, मन्त्री र नेतालाई हेलिकप्टरबाट उद्धार गर्न लाग्यो । त्यसपछि जेन जीहरुको मनोबल ह्वात्तै बढ्यो भने प्रहरीले के गर्ने नगर्ने आदेश पाउन सकेनन् र जेन जीहरू हावी भए ।

क्रमशः प्रदशनकारीको भीड राज्यका प्रमुख अङ्ग कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाका कार्यालयहरूमा प्रवेश गरी अनपेक्षित रूपमा तोडफोड र आगजनीका घटना भए ।

सो घटनामा हालसम्म ७१ जनाको मृत्यु भएको छ । २ हजार जनाभन्दा बढी घाइते भएका छन् । आन्दोलनले सरकार परिवर्तन भई जेनजीको समर्थनमा प्रथम महिला प्रधानन्यायाधीश सुशीला कार्की अन्तरिम सरकारको नेतृत्वमा आउनुभएको छ । प्रतिनिधि सभा विघटन भई फागुन २१ गते निर्वाचन मिति घोषणा भएको छ ।

नयाँ अन्तरिम सरकारका चुनौती र जिम्मेवारी
प्रविधिमा हुर्किएका नयाँ पुस्ता जेन जी, प्रधानसेनापति र राष्ट्रपति सहित बसी जेन जीको समर्थनमा गठित सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारको अब निम्न चुनौती र जिम्मेवारी रहेका छन् ।

१. समयमै तोकिएको निर्वाचन सम्पन्न गरी जननिर्वाचित सरकारलाई सत्ता सुम्पिने,

२.आन्दोलनको क्रममा शहीद भएका व्यक्तिका परिवार र घाइतेलाई उचित न्यायको लागि राहत, क्षतिपूर्तिसहित उपचार गर्ने गराउने,

३.आगजनी र तोडफोडबाट क्षतिग्रस्त सार्वजनिक सम्पत्तिको पुनःनिर्माण, पुनःस्थापना, सुरक्षा र संरक्षण गर्ने,

४. जेन जी आन्दोलनको छानबिन गर्न स्वतन्त्र छानबिन आयोग गठन गर्ने,

५. उच्चस्तरीय संविधान संशोधन आयोग गठन गर्ने,

६. भ्रष्टाचार हटाई प्रतिक्रान्ति रोक्ने र सुशासन कायम गर्ने ।

अन्त्यमा, नेतृत्वविहीन, गैरराजनीतिक चरित्रको सूचना प्रविधिमा घुलमिल हुने जेन जी पुस्ता हो । स्वेच्छाचारी ढङ्गले सञ्चालित भ्रष्ट सरकारको जनताविरोधी कामकारवाही विरुद्ध जेन जीको आन्दोलन सडकमा आयो ।

आन्दोलनले घुस काण्ड, मानव तस्करी काण्ड, कुलमान बर्खास्त काण्ड, सहकारी काण्डमा मुछिएको सरकार परिवर्तन गरी निर्वाचन गराउने अख्तियारीका साथ अन्तरिम सरकार गठन गर्यो ।

प्रत्यक्ष निर्वाचित सरकार प्रमुख, निर्वाचन प्रणाली, संघीयताका मोडेल, न्यायप्रणाली जस्ता प्रावधानमा जनताका संविधानप्रतिका असन्तुष्टि सम्बोधन गर्न जननिर्वाचित सरकारलाई जिम्मा दिनुपर्छ र राजनीतिक दलले राजनीतिमा पुस्तान्तरणलाई आमन्त्रण गरेमा जेन जी पुस्ताको आन्दोलनको सार्थकता हुनेछ ।

(अधिवक्ता कार्की जिल्ला बार एसोसिएसन झापाको सहसचिव हुनुहुन्छ ।)

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments