विराटचोकः भारतबाट बढेर आए पनि नेपाल सरकारले भने पेट्रोलियम पदार्थको मूल्य यथावत् राखेको छ । हिजो विज्ञप्ति जारी गर्दै नेपाल आयल निगमले चाडपर्व र देशको परिस्थितिका कारण मूल्य समायोजन नगरिएको जनाएको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘आसन्न चाडपर्वको अवसर एवम् मुलुकको हालको विशेष परिस्थितिमा पेट्रोलियम पदार्थ तथा ग्यासको मूल्य वृद्धि गर्दा आम उपभोक्ता वर्गमा पर्न जाने मूल्य वृद्धिको चापलाई कम गर्न र मूल्य स्थिरता कायम गरी मुलुकभर पेट्रोलियम पदार्थको सहज आपूर्ति गर्न साविकको खुद्रा बिक्री मूल्यलाई नै यथावत कायम गरिएको छ ।’
भारतबाट पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ २९ पैसा र डिजेलमा प्रतिलिटर ३ रुपैयाँ ४६ पैसा मूल्य बढेर आएको निगमले जनाएको छ ।
निगमका अनुसार चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा पेट्रोल प्रतिलिटर १५८ रुपैयाँ ५० पैसा र डिजेल तथा मट्टितेल १४२ रुपैयाँ ५० पैसामा बिक्री भइरहेको छ ।
सुर्खेत र दाङमा पेट्रोल १६० रुपैयाँ र डिजेल तथा मट्टितेल १४४ रुपैयाँमा बिक्री भइरहेको छ ।
काठमाडौं, पोखरा र दिपायलमा भने पेट्रोलको मूल्य १६१ रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य १४५ रुपैयाँ रहेको छ ।







