विराटचोकः भदौ २४ गतेदेखि बन्द भएको शेयर बजार अब असोज ५ गतेदेखि मात्रै खुल्ने भएको छ ।
पूँजीबजारको प्रमुख नियामक नेपाल धितोपत्र बोर्डले बजारमा सकेसम्म कम क्षति हुने हिसाबले नयाँ नियमसहित केही दिन बजार सञ्चालन गर्ने भएको हो । बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले लगानीकर्ताहरुको बजार खुलाउनुपर्ने बढ्दो मागलाई मध्यनजर गरी आइतबार खुमलटारस्थित कार्यालयमै नेप्सेका प्रमुख कार्यकारी अधिकृत चूडामणि चापागाईं र सिडिएससीकी प्रबन्ध निर्देशक प्रविन पन्धाकसँग छलफल गर्नुभएको थियो ।
छलफलमा सहभागी तीनवटै निकायका कार्यकारी प्रमुखबीच यसअघि घोषणा भएअनुसार नै असोज २ गतेअघि बजार नखुलाउने र असोज ५ गतेदेखि शेयर कारोबार हुँदा २ घण्टामात्रै बजार सञ्चालन गर्ने निर्णय भएको हो । शुरुमा बिहान ११ बजेदेखि १ बजेसम्म बजार सञ्चालन गर्ने र बजार खुलेको पहिलो एक घण्टामा नेप्से परिसूचक ३ प्रतिशतले घटबढ भएमा सर्किट ब्रेकर लगाएर सो दिनको शेयर कारोबार अन्त्य गर्ने निर्णय भएको हो ।







