विराटचोकः नेपालको पहिलो महिला प्रधानमन्त्री सुशीला कार्की हुुनुभएको छ । उहाँ नेपालको ४२ औँ प्रधानमन्त्री तथा विराटनगरवासी छैटौँ प्रधानमन्त्री हुनुहुन्छ । नेपालको राजनीतिक इतिहासमा विराटनगरले पहिलो महिला प्रधानमन्त्रीसहित ६ जना प्रधानमन्त्री पाएको हो ।
विराटनगर जन्मथलो हुने पहिलो प्रधानमन्त्रीमा मातृकाप्रसाद कोइरालाको नाम आउँछ । मातृकाप्रसाद कोइराला पहिलो पटक २००८ साल मंसिर १ गतेदेखि २००९ साल साउन ३० गतेसम्म प्रधानमन्त्री हुनुभएको थियो । दोस्रो पटक २०१० साल असार १ गतेदेखि २०११ साल माघ २६ गतेसम्म प्रधानमन्त्री हुनुभएको थियो ।
त्यस्तै बीपी कोइरालाले २०१६ साल जेठ १३ गतेदेखि २०१७ साल पुस १ गतेसम्म प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्नुभएको थियो ।
नगेन्द्रप्रसाद रिजाल पनि दुई पटक प्रधानमन्त्री हुनुभएको थियो । उहाँको पहिलो कार्यकाल २०३१ साल मंसिर १३ गतेदेखि २०३४ साल भदौ २८ गतेसम्म थियो । दोस्रो कार्यकाल २०४२ साल चैत १९ गतेदेखि २०४३ साल जेठ १ गतेसम्म रहेको थियो ।
गिरिजाप्रसाद कोइरालाले चारपटक प्रधानमन्त्रीको पद सम्हाल्नुभयो । उहाँ पहिलो पटक जेठ १२, २०४८ देखि मंसिर १४, २०५१ सम्म प्रधानमन्त्री हुनुभएको हो । दोस्रो पटक चैत २६, २०५४ देखि जेठ १७, २०५६ सम्म प्रधानमन्त्री हुनुभएको थियो । त्यस्तै चैत १०, २०५६ देखि साउन ११, २०५८ सम्म तेस्रो पटक र बैशाख १२, २०६३ देखि भदौ ५, २०६५ सम्म चौथो पटक प्रधानमन्त्री हुनुभएको थियो ।
मनमोहन अधिकारीले २०५१ साल मंसिर १४ गतेदेखि २०५२ साल भदौ २६ गतेसम्म प्रधानमन्त्रीको पदभार ग्रहण गर्नुभएको थियो ।
विराटनगरवासी छैटौँ र नेपालको ४२ औँ प्रधानमन्त्रीको रुपमा सुशीला कार्की २०८२ भदौ २७ गते नियुक्त हुनुभएको हो ।







