लेटाङः १८ औँ पुस्तकालय दिवसको अवसरमा शान्ति सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र लेटाङमा अन्तर विद्यालयस्तरीय कविता प्रतियोगिता भदौ ९ गते सम्पन्न भएको छ ।
कोशी साहित्य कला परिषद् नेपालका तदर्थ समिति अध्यक्ष केशु विरहीको प्रमुख आतिथ्यतामा भएको ‘मेरो पुस्तकालय, मेरो भविष्य’ शीर्षकको कविता प्रतियोगितामा लिटिल फ्लावर इङ्लिस स्कुलकी आयुषा लामा पहिलो हुनुभएको थियो । जाँते नमुना माविका छात्र समीप काफ्ले दोस्रो, लिटिल फ्लावर इङ्लिस स्कुलका पारस कार्की तेस्रो र शिक्षा विकास माविका प्रज्ज्वल निरौलाले सान्त्वना स्थान हासिल गर्नुभएको थियो ।
लेटाङ नगरभित्रका विभिन्न १८ वटा विद्यालयको सहभागिता रहेको कार्यक्रमका विजयी प्रतियोगीहरूलाई पुस्तकालय उद्घाटनको अवसरमा आयोजित विशेष समारोहमा पुरस्कृत गरिने आयोजक संस्थाका अध्यक्ष सुदेश वस्तीले जनाउनुभएको छ ।
प्रतियोगितामा निर्णयकका रूपमा स्रष्टाहरू चिरञ्जीवी काफ्ले, नवराज पोखरेल ‘नवशिला’, गगन योक्पाङ्देन र दधिराम ढकाल रहनुभएको थियो ।
लेटाङका अग्रज स्रष्टा विश्वनाथ शाक्य ‘पागल’, पुस्तकालयका सल्लाहकार तथा राजनीतिकर्मी दीपकचन्द्र राई, स्थानीय समाजसेवी युवराज तिम्सिना, मित्रप्रसाद बिमली, नेत्र केसी आदि विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको प्रतियोगितामा कार्यक्रमका संयोजक राजेश ढकालले स्वागत मन्तव्य राख्नुभएको थियो ।
शान्ति सामुदायिक पुस्तकालयका अध्यक्ष सुदेश वस्तीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव मनोज विश्वकर्माले गर्नुभएको थियो ।







