विराटचोकः गत आर्थिक वर्षको वित्तीय विवरण वाणिज्य बैंकहरुले सार्वजनिक गरेका छन् । गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार सो अवधिसम्ममा बैंकहरुको कुल नाफा ७१ अर्ब १८ करोड रुपैयाँ रहेको छ । सो नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा ४३ दशमलव ९७ प्रतिशत बढी हो । अघिल्लो आर्थिक वर्ष बैंकहरुले ४९ अर्ब ५४ करोड रुपैयाँ खुद नाफा कमाएका थिए ।
नाफा कमाउनेमा नबिल अगाडि
२० वाणिज्य बैंकमध्ये गत वर्ष नबिल बैंक लिमिटेडले सर्वाधिक ७ अर्ब १२ करोड रुपैयाँ खुद नाफा कमाएको छ । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा १५ दशमलव ०१ प्रतिशत बढी हो । अघिल्लो आर्थिक वर्ष पनि सो बैंकले अन्य बैंकहरुभन्दा बढी नाफा कमाएको थियो ।
नेपाल इन्भेष्टमेन्ट मेघा बैंक लिमिटेडले ६ अर्ब ७५ करोड रुपैयाँ नाफा कमाएको छ भने ग्लोबल आइएमई बैंकले ६ अर्ब २० करोड रुपैयाँ नाफा कमाएको छ । सबैभन्दा कम नाफा कमाउने बैंक भने एनआईसी एशिया बैंक रहेको छ । सो बैंकले गत आर्थिक वर्षको अन्त्यसम्ममा १६ करोड रुपैयाँ खुद नाफा कमाएको छ ।
कुमारी बैंकको नाफा वृद्धिदर धेरै
प्रकाशित वित्तीय विवरणअनुसार कुमारी बैंकको नाफा वृद्धिदर सबैभन्दा बढी ४५ हजार ८२१ प्रतिशत देखिएको छ । प्रभु बैंक र नेपाल बैंकले पनि अघिल्लो आर्थिक वर्षको तथ्यांक परिमार्जन गर्दा नाफा वृद्धिदर उल्लेख्य देखिएको छ ।
नाफा घटाउनेमा चार बैंक
गत आर्थिक वर्षमा ४ वाणिज्य बैंकहरुको नाफा घटेको छ । प्रकाशित अपरिष्कृत वित्तीय विवरणअनुसार स्ट्याण्डर्ड चार्टर्ड बैंक, नेपाल एसबिआई बैंक, सिटिजन्स बैंक इन्टरनेशनल र एनआईसी एशिया बैंकको नाफा घटेको हो ।







