विराटचोकः लक्ष्मी सनराइज बैंक लिमिटेडले गत आर्थिक वर्षमा खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा बढाएको छ । बैंकले ४ अर्ब ११ करोड ६९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ४० दशमलव ९७ प्रतिशत बढी हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले २ अर्ब ९२ करोड रुपैयाँ खुद नाफा कमाएको थियो ।
खुद ब्याज आम्दानी घटे पनि इम्पेरमेन्ट चार्ज घटेका कारण खुद नाफा बढ्न पुगेको हो । बैंकको खुद ब्याज आम्दानी ७ दशमलव ९९ प्रतिशत घटेको छ भने खुद फि तथा कमिसन आम्दानी १० दशमलव ०५ प्रतिशत बढेको छ । बैंकको कुल सञ्चालन आम्दानी १ दशमलव ५४ प्रतिशत घटेको छ । सञ्चालन मुनाफा ३८ दशमलव ५५ प्रतिशत बढेको छ । बैंकको इम्पेरमेन्ट चार्ज ३ अर्ब ५८ करोड रुपैयाँबाट घटेर १ अर्ब १८ करोड रुपैयाँमा सीमित भएसँगै सञ्चालन मुनाफा र खुद नाफा बढ्न पुगेको हो ।
बैंकको प्रतिशेयर आम्दानी ४ रुपैयाँ ९१ पैसा बढेर १६ रुपैयाँ ९१ पैसा पुगेको छ । गत असार मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा ३ अर्ब ५३ लाख रुपैयाँ रहेको छ भने वितरणयोग्य प्रतिशेयर आम्दानी १२ रुपैयाँ ३४ पैसा रहेको छ । २४ अर्ब ३४ करोड रुपैयाँ चुक्तापूँजी रहेको बैंकको जगेडा कोषमा २१ अर्ब ९ करोड रुपैयाँ सञ्चित छ ।







