मधुमल्लाः गर्मी बढेसँगै मोरङको मिक्लाजुङ गाउँपालिका वडा नम्बर ५ स्थित कुलुङ झरनामा आन्तरिक पर्यटकको चाप बढेको छ । पर्यटन प्रवद्र्धनका उद्देश्यले गाउँपालिका अध्यक्ष बबिकुमार राई, वडा नं. ५ का अध्यक्ष मेघनाथ तामाङ र वडा नं. २ का अध्यक्ष बलबहादुर श्रेष्ठको नेतृत्वमा झरना र झरनासम्म जाने बाटोको स्थलगत अनुगमन गरिएको छ ।
मिक्लाजुङ गाउँपालिकाले झरनासम्म जानको लागि जोगिटार–लिङ्गे मार्ग सुधार तथा बिस्तारका लागि २० लाख रुपैयाँ बजेट विनियोजन गरेको जनाएको छ । त्यस्तै, वडा नं. ५ ले पर्यटकका लागि विश्रामस्थल निर्माणमा ५ लाख रुपैयाँ लगानी गरेको छ ।
वडाध्यक्ष तामाङका अनुसार हाल कुलुङ झरनामा दैनिक हजारौँ आन्तरिक पर्यटक पुग्ने गरेका छन् ।
गाउँपालिकाले सडक चौडाइ बिस्तार, डोजरमार्फत् जोखिमयुक्त भागमा रिटेनिङ वाल, रेलिङ तथा सङ्केतक बोर्ड जडानलाई प्राथमिकतामा राखेको छ ।







