पोखराः केही दिनदेखि सम्पर्कविहीन रहेका हायू समुदायका एकै परिवारका १५ सदस्य पोखराको गगनगौंडा क्षेत्रमा फेला परेका छन् । उनीहरूलाई माथिल्लो गगनगौंडा क्षेत्रबाट प्रहरीले नियन्त्रणमा लिएको छ ।
उनीहरूले आफूहरू मजदुरी गर्न पोखरा आएको बताएका छन् । गगनगौंडाका स्थानीय सोमनाथ पौडेल र चन्द्र भण्डारीको घरमा बसिरहेको अवस्थामा प्रहरीले उनीहरूलाई फेला पारेको हो ।
केही दिनदेखि एकै परिवारका १६ जना बेपत्ता भएको खबरले हिजो दिनभर सबैलाई चकित पारेको थियो । बेपत्ता भएका भनिएकीमध्ये परिवारकी माइली छोरीले आफू केही पहिलेदेखि काठमाडौंमा रहेको बताएको र परिवारका अन्य सदस्यको खोजी गर्न आफू पनि लागिरहेको बताएपछि बेपत्ता हुनेको सङ्ख्या १५ जना पुष्टि भएको थियो ।
बेपत्ता भएकाहरु शनिबार पोखरामा बसेको पत्ता लागेपछि पोखरामा खोजी कार्य तीव्र बनाइएको थियो । आफूहरू शुक्रबार राति १ बजे घर छोडेर विद्युतीय माइक्रो रिजर्भ गरेर पोखरा आएको र सिन्धुलीमा रहँदा धेरै रोगबिराम लाग्ने गरेकाले अब सो ठाउँमा नजाने बयान दिएको प्रहरीले जनाएको छ ।







