विराटचोकः मोरङको सुन्दरहरैंचामा रहेको सुकुना बहुमुखी क्याम्पसले सेवा निवृत्त प्राध्यापक र कर्मचारीको एक कार्यक्रमका बीच शुक्रबार बिदाइ तथा सम्मान गरेको छ ।
क्याम्पसको सभाहलमा आयोजित कार्यक्रममा अनिवार्य अवकाश लिएका ५ जना प्राध्यापक र १ जना कर्मचारी तथा स्वेच्छिक अवकाश लिनुभएका १ जना प्राध्यापकको बिदाइ गरिएको हो ।
बिदाइ हुनुहुने सहप्राध्यापकहरू केशवराज भट्टराई, डा. मोहनकुमार तुम्बाहाङ, गुरुप्रसाद अधिकारी, विदुर सुवेदी, उपप्राध्यापकद्वय कृष्णप्रसाद भुर्तेल र तोर्णराज पौडेल तथा कर्मचारी प्रेमलाल खवासको सेवानिवृत्त सुखद जीवनको कामना गर्दै सम्मान गरिएको हो । उपप्राध्यापक पौडेलले स्वेच्छिक अवकाश लिनुभएको हो भने अन्य उपप्राध्यापक, सह प्राध्यापक र कर्मचारीले अनिवार्य अवकाश लिनुभएको हो ।
उहाँहरुलाई सम्मानपत्र र दोसल्ला प्रदान गरिएको थियो ।
बिदाइ तथा सम्मान कार्यक्रममा बोल्दै सेवानिवृत्त प्राध्यापक तथा कर्मचारीले अब घरपरिवार तथा इष्टमित्र र आफन्तलाई समय दिन सहज भएको बताउनुभयो । समाजसेवा र अध्ययन तथा लेखनमा समय दिन पनि अब सहज भएको उहाँहरूको भनाइ थियो ।
क्याम्पस प्रमुख अर्जुनराज अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा पूर्व क्याम्पस प्रमुख चन्द्रमणि राई, क्याम्पस सञ्चालक समिति अध्यक्ष केशव अधिकारी, उपाध्यक्ष ललित श्रेष्ठ, सदस्य रामप्रसाद गजुरेल, स्ववियु अध्यक्ष एलिस ओझालगायतको उपस्थिति थियो ।







