विराटचोकः आर्थिक वर्षको पहिलो दिन हिजो नेपाल ज्योतिष परिषद् कोशी प्रदेश समितिले चालु आर्थिक वर्ष २०८२÷०८३ को नीति, कार्यक्रम तथा बजेट सर्वसम्मत पारित गरेको छ ।
परिषद्को प्रदेशसभा हल, सुन्दरहरैँचा–५ मा सम्पन्न कार्यक्रममा कोशी प्रदेश अध्यक्ष बाबुराम निरौलाले अनुमानित ४७ लाख रुपैयाँ बराबरको नीति, कार्यक्रम तथा बजेट प्रस्ताव पेश गर्नुभएको थियो । प्रस्तुत नीति तथा कार्यक्रममा ताप्लेजुङको पाथीभरा क्षेत्र र सोलुखुम्बुको सगरमाथा आसपासको उच्च भूभागमा प्रदेशस्तरीय कार्यक्रम आयोजना गरिने उल्लेख गरिएको छ ।
त्यस्तै, नवग्रह अध्ययन तथा विज्ञान गृह निर्माणको कार्य प्रारम्भ गरिने र कोशी प्रदेशभर पेशागत ज्योतिषीहरूलाई लक्षित गरी विभिन्न प्रशिक्षण तथा अनुसन्धानमूलक कार्यक्रम सञ्चालन गरिने बताइएको छ । परिषद्ले पिण्डेश्वर विद्यापीठसँगको सहकार्यमा अनुसन्धान, अध्ययन र ज्ञान आदान–प्रदानलाई प्राथमिकता दिने नीति पनि अघि सारेको छ ।
कार्यक्रममा पिण्डेश्वर विद्यापीठका अनुसन्धान विभाग प्रमुख डा. महानन्द तिम्सिनाले परिषद्सँग हातेमालो गर्दै अगाडि बढ्ने बताउनुभयो । उपप्राध्यापक अम्बरराज ढकालले वास्तुशास्त्रसम्बन्धी विशेष प्रस्तुति राख्दै ज्योतिष क्षेत्रलाई वैज्ञानिक दृष्टिकोणले अघि बढाउन सुझाव दिनुभएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि तथा परिषद्का केन्द्रीय महासचिव विश्वप्रकाश लामिछानेको परिषद्को अघिल्लो आर्थिक वर्षको प्रगति प्रतिवेदन तथा खर्च विवरण पारदर्शी र अन्य प्रदेश समितिका लागि अनुकरणीय भएको बताउनुभयो ।







