खेमचन्द्र अधिकारी
सलकपुरः समाज बदल्न नयाँ कामको शुरुवात आफैँबाट गर्नुपर्छ भनिन्छ । त्यसमाथि जनप्रतिनिधि त जनताका अभिभावक हुन् । तिनै जनप्रतिनिधिले राम्रो कामको प्रारम्भ गरेपछि त्यसले चर्चासँगै निरन्तरता पनि पाउँछ । यस्तै, नयाँ काम शुरु गरेर सुन्दरहरैंचा नगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष खेमप्रसाद न्यौपाने अहिले अनुकरणीय बन्नुभएको छ ।
नेपाली समाजमा मानिसको मृत्युपछि आशौचमा रहेका किरियापुत्रीलाई राति रुँग्ने चलन छ । किरियापुत्रीको मनमा रहेको शोक, आफन्त गुमाउँदाको पीडा र एक्लोपनलाई कम गर्न छिमेकी तथा आफन्त राति बस्ने चलन चलेको हो । पछि यसरी बस्ने केही मानिसले समय कटाउने नाममा तास खेल्ने क्रम शुरु भयो । पछिल्लो समय त्यसले विकृतिको रुप लिँदै जुवाजन्य गतिविधि नै शुरु हुन थाले । यसरी तास खेल्नेलाई प्रहरीले पनि कुनै कारवाही नगर्ने भएपछि शोकमा रहेको घरमा गएर तास खेल्ने क्रम अझ बढ्न थाल्यो । समाजमा विकृतिको रूप लिने सम्भावना भएपछि न्यौपानेले आफ्नी आमाको मृत्युपछि आफ्नो घरमा जुवा, तास खेल्न नदिने निर्णय गर्नुभएको हो ।
‘समाजमा केही नयाँ काम गरौँ भनेर यस्तो निर्णय गरिएको हो’, वडाध्यक्ष न्यौपानेले भन्नुभयो, ‘हाम्रो परिवारमा यसरी आशौच बारेको समयमा तास खेल्ने क्रममा यसअघि दुई पटक विवाद र मुद्दामामिलासम्म भएपछि यस पटक तास खेल्न नदिने निर्णय गरेका हौँ ।’
वडाध्यक्ष न्यौपानेकी आमा सरस्वती न्यौपानेको ९१ वर्षको उमेरमा असार १४ गते निधन भएको थियो । आमाको निधनपछि न्यौपानेले आँगनमा मानिस भेला भएर बस्ने ठाउँबाट देखिने गरी घरमा तथा घरबाहिरका अन्य स्थानमा ‘शोकको यस घडीमा तास नखेलिदिनुहोला’ भन्ने आशयका भनाइ टाँस्न लगाउनुभयो । जसको सकारात्मक प्रभाव पर्याे र आशौचको १३ दिनको अवधिमा आउने शुभेच्छुकले तास नखेली भलाकुसारी गरेर समय बिताए ।
सुन्दरहरैंचा–८ कै स्थायी बासिन्दा गायक श्रीकृष्ण लुइँटेलले यसै परिवेशलाई समेटेर ‘डाँडाघरे काका मरे, तास खेल्न पाइने भो भरे ….’ भन्ने हास्य गीतमा समाजमा रहेको यस्तो विकृतिको विरोध २ वर्ष अघि नै गर्नुभएको छ ।








