काठमाडौंः माइक्रोसफ्टले कृत्रिम बुद्धिमत्ता (एआई) प्रयोगमा जनशक्ति तयार पार्नका लागि विश्वव्यापी रूपमा ४ अर्ब अमेरिकी डलरभन्दा बढीको सहयोग गर्ने घोषणा गरेको छ । यसअन्तर्गत कम्पनीले विद्यालय, सामुदायिक कलेज, प्राविधिक कलेज र गैरनाफामूलक संस्थाहरुलाई नगद तथा प्रविधि सेवाको रूपमा सहयोग पु¥याउनेछ ।
तर, कम्पनीले नगद अनुदान र प्रविधि सेवा रूपमा कतिकति रकम विनियोजन गरिने भन्ने विवरण भने तत्काल खुलाएको छैन । माइक्रोसफ्टले आगामी ५ वर्षभित्रमा उक्त ४ अर्ब डलर बराबरको सहयोग गर्ने जनाएको छ । कोपाइलट नामक च्याटबोट निर्माता कम्पनी माइक्रोसफ्टले ठूलो स्तरमा एआई शिक्षा र सीप विकास प्रदान गर्ने उद्देश्यले माइक्रोसफ्ट एलिभेट एकेडेमी नामक नयाँ तालिम कार्यक्रम शुरु गर्दैछ ।
यस कार्यक्रमले २ करोड जनालाई एआईसम्बन्धी प्रमाणपत्र हासिल गर्न सहयोग गर्ने लक्ष्य राखेको छ । प्रविधि कम्पनीहरू आफ्ना एआई उपकरणहरु शिक्षक तथा विद्यार्थीलाई तालिम दिन दौडिरहेको बेलामा माइक्रोसफ्टको यो घोषणा आएको हो ।
यसै सन्दर्भमा मङ्गलबार १८ लाख सदस्यहरू भएको अमेरिकन फेडेरेसन अफ टिचर्सले शिक्षकहरूका लागि राष्ट्रिय एआई तालिम केन्द्र खोल्ने घोषणा गरेको छ । यो केन्द्रका लागि माइक्रोसफ्ट, ओपनएआई र एन्थ्रोपिकबाट २ करोड ३० लाख अमेरिकी डलरको आर्थिक सहयोग प्राप्त भएको छ । गत हप्ता, अमेजन, एप्पल, गुगल, मेटा, माइक्रोसफ्ट, एनभिडिया र ओपन एआईलगायतका दर्जनौं प्रविधि कम्पनीहरूले ह्वाइट हाउससँग एक प्रतिज्ञापत्रमा हस्ताक्षर गरेका छन् ।
उक्त प्रतिज्ञामा ती कम्पनीले विद्यालयलाई एआई शिक्षाका लागि आर्थिक सहयोग, प्रविधि र तालिम सामग्री उपलब्ध गराउने वाचा गरेका छन् । सन् २०२३ मा, अमेजनले अमेजन एआई नामक नयाँ कार्यक्रम घोषणा गरेको थियो । जसअन्तर्गत २० लाख जनालाई अमेजनको एआई सीपसम्बन्धी अनलाइन कोर्स निःशुल्क प्रदान गरिने लक्ष्य राखिएको छ ।







