विराटचोकः एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आजदेखि ४२ प्रतिशत हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गरेको छ ।
इन्स्योरेन्सले १ अर्ब ४२ करोड ७९ लाख ३१ हजार २४८ रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका १ करोड ४२ लाख ७९ हजार ३१२ कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ ।
हकप्रद शेयर निष्काशन प्रयोजनार्थ इन्स्योरेन्सले जेठ १६ गते बुक क्लोज गरेकाले जेठ १४ गतेसम्म कायम शेयरधनीहरुले सो हकप्रद शेयरका लागि साउन १३ गतेसम्म आवेदन दिन सक्नेछन् ।
हकप्रद शेयर निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेडका अनुसार शेयरधनीहरुले बिक्री प्रबन्धकका साथै मुक्तिनाथ विकास बैंकका बिर्तामोड, विराटनगर, जनकपुर, नारायणगढ, पोखरा–चिप्लेढुङ्गा, नेपालगञ्ज, सुर्खेत, धनगढी, महेन्द्रनगर र बुटवल शाखा कार्यालय तथा एशियन लाइफ इन्स्योरेन्सको कार्यालयबाट आवेदन दिन सक्नेछन् ।
नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट र सिडिएस एण्ड क्लियरिङ्गबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो शेयर’ अनलाइन प्रयोग गरी सि आस्बा प्रणालीमार्फत् पनि लगानीकर्ताले आवेदन दिन सक्नेछन् ।
हाल इन्स्योरेन्सको चुक्ता पूँजी ३ अर्ब ३९ करोड ९८ लाख ३६ हजार ३०७ रुपैयाँ रहेको छ । हकप्रद बाँडफाँडपछि इन्स्योरेन्सको चुक्ता पूँजी ४ अर्ब ८२ करोड ७७ लाख ६७ हजार ५५५ रुपैयाँ पुग्नेछ ।







