एकु घिमिरे
हामीले २०७२ चैत्र २२ गते सोमबार एनआईसी–एसिया बैंकबाट रू. १० लाख ऋण ९.५% व्याजदरमा (कुरामा १० वर्षलाई अनि कागजमा चाहिं १२ वर्षलाई बनाएछ्न्! किनकी मेरो आम्दामी अनुसार तिर्नसक्ने किस्ता बनाउनु पथ्र्यो अरे !) घर धितो राखी ऋण लिएका थियौं । अस्ति असार १६ गते गएर बुझ्दा त हाम्रो जम्मा २,३२,२६४.४० मात्रै सावाँ घटेयो अरे ! तबसम्ममा व्याजमात्रै रू. १० लाख ५८ हजार ३८९.७२ तिरिसकेछौं ! अब साउँ तिर्न रू. ७ लाख ६७ हजार ७३५.६ बाँकी रहेछ !
रू १० लाख लिएकोमा आजसम्म हामीले रू. १२ लाख ९० हजार ६५४.१२ बैंकलाई तिरिसकेछौं !
अझ गज्जब लागेको कुरा के छ भने हामीले बुझे अनुसार २०८२ चैत्रमा सकिने किस्ता कागज अनुसार २०८४ चैत्रमा मात्रै सकिने भएकोसम्म ठिकै हो तर बैंकले सो ऋणको किस्ता २०९० को चैत्रमा मात्रै सकिने बनाएछ । त्यसको कारण के अरे भने ऋण लिएको केही महिनापछि व्यजदर बढ्यो अरे ! कति कति भयो त भनेको नौ महिनापछि १०.५%, त्यसको २ महिनापछि११.५%, लगत्तै अर्को महिना १२.५%, त्यसको तीन महिनापछि १३%, फेरि त्यसको २ महिनापछि १३.४९% गर्दै गर्दै यो आधिकारिक साहुले त व्याजदर १५.११% सम्म असुलेको रिपोर्ट दियो !
मैले बीबीएस सकेर बैंकको लोकसेवा तयारी गर्दै गरेकी मेरी छोरीलाई पनि सोधपुछ गर्दा लिएर गएको थिएँ । उनले जानकारी नै नगरी कसरी यतिसम्म गर्न सक्नुभयो भनेर उक्त बैंकको धरान शाखाका लोन अधिकृत सुनिल राईलाई सोधिन् । राम्रा ऋृणी मतलब खुरुखुरु किस्ता समयमै तिर्नेलाई बैंकले जानकारी गराउने चलन छैन रे ! हामीले खाइ–नखाइ गरेर समयमै किस्ता तिरी राम्रो ऋणी भएको इनाम यो दिएको रहेछ बैंकले । म केही नबोली पानी पिउन तल झरें (लोन शाखा दोश्रो तलामा रहेछ ।)
पानी पिएर माथि गएँ । मैले अधिकृतज्यूलाई सोधें
१० लाख लिएको नौ वर्षमा १३ लाख जति तिर्दा पनि अझै आठ लाखको नजिक ऋण र त्यसको व्याज बाँकी नै छ भनेर ग्राहकलाई भन्नुपर्दा हजुरको मनमा सामान्य नागरिक भएर सोच्दा कस्तो भाव आउँछ? मजै आउँछ कि हामी आधिकारिक लुटाहा साहुका सन्तान हौं भनेर गर्व लाग्छ ?“
उनी पाकेको खोर्सानी झैं भए, टार्न खोजे तर मैले उत्तर खोजिरहें । अन्त्यमा भनेः
“पीर लाग्छ ।“
घर आएर सम्झिएँ अनि छलफल पनि भए । बैंक त लुटको खेती पो गर्दै रहेछ, हैन ?
अस्तिसम्म लिएको ऋण नतिर्ने दुर्गा प्रसाईंको कुरै सुन्न मन लाग्थेनँ तर बैंकले लुटेका छ्न् भन्ने उनको बोली त सत्य नै रहेछ, हैन र?( यसो भनेर हामी यो ऋण नतिर्ने भन्ने हैन, बरू चाँडै तिर्ने योजना बनाउँदैछौं ।)
त्यो दिन पनि उक्त बैंकले हामीलाई १०.२३% व्याज असुल्फै थियो ! हामीले गरेको कागजमा ९.५% मात्रै छ ।
संसारकै बैंकहरूको नियम यस्तै हो ? नेपालका सबैं बैंकको धन्दा यस्तै हो कि चर्चित बैंकले मलाई ठगेको होला ?
व्याजदर राष्ट्र बैंकले नै बढाएको अरे, कहिले कति कति र किन बढाएको भन्ने बुझ्ने ठाउँ छ कतै ? मलाई चर्चित बैंकले लिएको व्यजदर सबै सही नै हो त? कि..? यसको उत्तर दिने निकाय पनि छ ?
पन्चायत कालमा साहुले व्याजको पनि व्याज लियो भनेर हामी साना हुँदा आएको प्रजातान्त्र पछि ती साहुका तमासुक च्यात्ने नेताहरू अहिले सत्तामा हुनुहुन्छ, बैंकको यो कदम तिनै साहुको झैं भएन र ?
नेपालमा लोन लिएर केही गर्ने वातावरण रहेछ त? अनि मान्छे विदेश गए भनेर रोइलो गरेर मात्रै थामिने अवस्था छ त?
मेरो त थोरै नै ऋण हो, धेरै हुनेको त सक्ने रहेनछ त?
हैट !
२०६८ सालको चैत्रमा पनि हामीले अहिले घर भएको जगा धितो राखी सोही बैंकबाट रू.५ लाख ऋण लिएर घर बनाएका थियौं । त्यो बेला व्याजदर १३% भन्ने थियो । कसैले नपत्याउने सानो आम्दानी भएको हामीलाई पत्याएर उक्त बैंकले ठुलै सहयोग गरेको थियो । त्यही पैसामा आफन्त र हितैसीहरूको रकम थपेर अहिलेको हाम्रो घर बनेको हो । त्यसैले हामीले दोश्रो पटक पनि सोही बैंक रोजेका थियौं । मलाई सो नामको बैंक नजिक पुग्दा (यो जानकारी पाउनु भन्दा अघिसम्म ) मन्दिर अघि पुगेको जस्तो लाग्थ्यो । कहिले आफ्नै बुवाको अघि पुगे झैं पनि लाग्थ्यो । तर त्यो विस्वास पनि धरमर धरमर भयो ।
मेरा जिज्ञासाका उत्तर पक्कै आउलान् ।
–घिमिरेको फेसबुक वालबाट







